• १९ साउन २०८२, सोमबार

अमेरिकी विशेष दूत विटकोफले आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, साउन १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफले आगामी साता रुसको भ्रमण गर्ने पुष्टि गर्नुभएको छ । पत्रकारसँग कुरा गर्दै ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँग अनलाइन विवादपछि आफूले तैनाथ गरेका दुई आणविक पनडुब्बी अहिले ‘यस क्षेत्रमा’ रहेको बताउनुभएको छ ।  

राष्ट्रपति ट्रम्पले आणविक शक्ति सम्पन्न पनडुब्बी वा आणविक हतियारले सुसज्जित पनडुब्बी किन त्यहाँ राखिएको हो भन्नेबारे भने केही बताउनुभएको छैन । उहाँले अमेरिकी सेनाले गोप्य राखेका स्थानका बारेमा पनि विस्तृत जानकारी दिनुभएन । उहाँले अर्को हप्ताको अन्त्यमा रुसलाई युक्रेन युद्ध अन्त्य गर्ने दिशामा कदम चाल्न वा अनिर्दिष्ट नयाँ प्रतिबन्धहरूको सामना गर्न समय सीमा तोकेका पृष्ठभूमिमा आणविक आक्रमण भएको हो ।

रिपब्लीकन नेता ट्रम्पले आफ्ना विशेष दूत विटकोफले सम्भवतः अर्को हप्ताको बुधबार वा बिहीबार रूस भ्रमण गर्ने बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनसँग सम्बन्ध सुधार्ने ट्रम्पको प्रयास विफल हुनुअघि मस्कोमा विटकोफसँग धेरै पटक भेट गरिसक्नुभएको छ । मस्कोका लागि विटकोफको सन्देश के हुनेछ र प्रतिबन्धबाट बच्न रुसले केही गर्न सक्छ कि सक्दैन भनी पत्रकारहरूले राखेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हो, मानिसहरू मारिनबाट जोगाउन एउटा सम्झौता गरियोस् भन्ने अमेरिकाको धारणा रहेको छ ।” 

-‘अतिरिक्त कर वृद्धि’-

यसअघि ट्रम्पले रुसका बाँकी व्यापार साझेदार चीन र भारतलाई लक्षित गरी नयाँ कदम चाल्नुको अर्थ ‘अतिरिक्त कर लागु’ हुन सक्ने बताउनुभएको छ । यसले रुसलाई थप दबाब दिनेछ तर यसले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यवधानको जोखिम ल्याउने छ । वासिङ्टनको दबाबका बावजुद रुसले युक्रेनविरुद्ध आक्रमण जारी राखेको छ ।

युद्धविरामको आह्वानलाई निरन्तर अस्वीकार गर्दै आएका पुटिनले शुक्रबार आफू शान्ति चाहेको तर करिब साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने आफ्नो माग ‘अपरिवर्तित’ रहेको बताउनुभएको छ । पुटिनले भन्नुभयो, “हामीलाई ठोस जगमा स्थायी र स्थिर शान्ति चाहिएको छ जसले रुस र युक्रेन दुवैलाई सन्तुष्ट पार्नेछ र दुवै देशको सुरक्षा सुनिश्चित गर्ने छ ।”

यद्यपि, उहाँले थप्नुभयो, “रुसी पक्षबाट अवस्था उस्तै छ ।” रुसले युक्रेनलाई मस्कोले कब्जा गरेको दाबी गरेका चार वटा क्षेत्रको नियन्त्रण प्रभावकारी रूपमा फिर्ता गर्न बारम्बार आग्रह गर्दै आएको छ । पुटिनले युक्रेनले नेटोमा सामेल हुने आफ्नो महत्वाकाङ्क्षा त्यागेर जाओस् भन्ने चाहनुभएको छ । युक्रेनले सन् २०१४ को शीतकालीन ओलम्पिकको आयोजक सहर सोचीमा रहेको तेल डिपोमा आइतबार ड्रोन आक्रमण गरेको छ ।

हालैका हप्ताहरूमा युक्रेनी भूमिमा रुसी आक्रमणका कारण दर्जनौँ सर्वसाधारणको मृत्यु भएपछि प्रतिक्रियास्वरूप किएभले रुसविरुद्ध हवाई आक्रमण तीव्र पार्ने बताएको छ । रुसको रक्षा मन्त्रालयले सोमबार राति युक्रेनका ६१ वटा ड्रोनलाई रोकेको जनाएको छ । युक्रेनको सैन्य प्रशासनले दक्षिणी खेरसन क्षेत्रमा रुसी गोलाबारीमा परी एक व्यक्तिको मृत्यु भएको जनाएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाईमा इस्तानबुलमा रुससँग भएको वार्तापछि एक हजार २०० युक्रेनी सैनिकलाई स्वदेश फर्काउने गरी दुवै पक्षले कैदी आदानप्रदानको तयारी गरिरहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युक्रेनमा जारी युद्ध चाँडै अन्त्य हुने ट्रम्पले बताउँदै आउनुभएको छ तर आक्रमणमा कमी आएको देखिँदैन । हालैका हप्ताहरूमा मस्कोको निरन्तर आक्रमणलाई लिएर पुटिनसँगको सम्बनधमा ट्रम्पले निराशा व्यक्त गर्दै आउनुभएको छ । रासस/एएफपी