• १९ साउन २०८२, सोमबार

पत्रकार महासङ्घ यूकेको वार्षिकोत्सव

बेलायतमा सिकेको सिप नेपालमा प्रयोग गर्न आग्रह

blog

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मासहितका अन्य सहभागी ।

लन्डन, साउन १९ गते । नेपाल पत्रकार महासङ्घ यूकेले आइतबार एक विशेष समारोहबीच आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष विमला सेनेले संयुक्त रुपमा गर्नुभएको थियो । 

सो अवसरमा शाखाले यसै वर्षदेखि शुरु गरेको वर्ष पत्रकारिता सम्मान २०२५ बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ ।

नेपालीलाई २५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तित्व नेपालीको पत्रकारितामा ५ दशक लामो योगदानबारे जानकारी दिनुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको बताउनुभयो । 

नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेशामा क्रियाशील हुनु चुनौतीपूर्ण रहेको बताउँदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिनुभयो । 

पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्य तथ्य र विश्वसनीयतामा आँच आउने औंल्याउँदै शर्माले जवाफदेही भएर  समुदायका मुद्दा उजागर गर्न आग्रह गर्नुभयो । 

बेलायत शाखाको विवादतर्फ इंगित गर्दै अध्यक्ष शर्माले केन्द्रले हस्तक्षेप भन्दा स्वतन्त्र रुपमा समाधान गर्न सहजीकरण गर्नु राम्रो हुने उल्लेख गर्नुभयो । नेतृत्वमा जाने चाहनेले समर्पण गर्नुपर्ने औंल्याउँदै उहाँले शाखा र पत्रकारिता जोगाउन सबैमा आग्रह गर्नुभयो । 

अहिले नेपालको पत्रकारितामा आर्थिक मन्दीले समयमा तलब नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हनन जस्ता कयौं चुनौती सामना गर्नु परिरहेको उल्लेख गर्दै उहाँले जस्तो परिस्थितिमा पनि हो भन्नुभयो । 

राजदूत घिमिरेले यहाँका पत्रकारहरुलाई आगामी दिनमा ब्रिटिश मेन स्ट्रिम मिडियामा कसरी आबद्ध हुन सकिन्छ त्यसबारे सोच्न सुझाउनुभयो । पत्रकारिता क्षेत्रमार्फत बेलायत र नेपाल सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको पनि उहाँले चर्चा गर्नुभयो । 

राज्य बलियो बनाउन राज्यको चौथो अङ्ग पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेर भन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गर्नुभयो । 

उहाँले संघसंस्था सङ्ख्यात्मक भन्दा पनि दरिलो, भरपर्दो एवं विश्वसनीय बनाउन सुझाव दिनुभयो । 

शाखा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नुभयो । 

कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले शाखाको १४ वर्षयताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गर्नुभयो । 

उपाध्यक्ष प्रमिला लाबुङ राईले नेपाल पत्रकार महासङ्घ जापान र युरोप शाखाले पठाएका शुभकामना सन्देश वाचन गर्नुभएको थियो । 

सोही कार्यक्रममा फोनिज यूकेले अध्यक्ष शर्मालाई स्वागत सम्मान गरेको छ ।