• १८ साउन २०८२, आइतबार

सुँगुरका खोर नहटाउने कृषकको भनाइ

blog

पत्रकार सम्मेलनमा सहभागी भएका सुँगुरपालक कृषकहरू । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, साउन १८ गते । फुङलिङ बजारका सुँगुरपालक कृषकले सुँगुरको खोर नहटाउने बताएका छन् । आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै सुँगुरको खोर नहटाउने उहाँहरुले अडान सुनाउनुभएको हो ।  

फुङलिङ नगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै बजार क्षेत्रभित्र र आसपासका क्षेत्रमा रहेका सुँगुरका खोरहरू हटाउन निर्देशन दिएसँगै सुँगुरपालक कृषक आन्दोलित बनेका छन् । नगरपालिकाले पहिलो पटक असार २७ गते र दोस्रो पटक साउन १५ गते सूचना जारी गर्दै तत्काल खोरहरू हटाउन आग्रह गरेको थियो । 

यता, स्थानीयले आफ्नो आम्दानीका प्रमुख स्रोत रहेकाले कुनै पनि हालतमा नहटाउने अडान लिएको कृषक दिलमाया मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आवश्यक छलफल, वार्तामा बोलाएर व्यवस्थापन गर्ने प्रयास नगरी आफ्नो व्यवसाय हटाउन निर्देशन दिएकाले आन्दोलन गर्नुपर्ने बाध्यताको सिर्जना भएको हो । 

बजार क्षेत्रमा करिब ५ सय जनाभन्दा बढी स्थानीयले सुँगुरपालनबाट मनग्य आम्दानी गरिरहेकाले आफ्नो व्यवसायको सुनिश्चित्ता गरी व्यवस्थापनमा लाग्न भने तयार रहेको बताएका छन् । तर नगरपालिकाले छलफल तथा समन्वय नगरी आफ्नो पेसाको अपहेलना गरेर आफुहरूमाथि अन्याय गर्न खोजेको आरोप सुँगुरपालक कृषकले लगाएका छन् । 

बजारक्षेत्रमा भएका सुँगुरका खोरबाट मलेरिया, डेँङ्गु लगायतका रोगहरू तथा वातावरणमा दुर्गन्ध फैलिएकाले तत्काल खोरहरू हटाउन फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ ।