काठमाडौँ, असार ८ गते । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा बढेर करिब १६ खर्ब पुगेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा व्यापार घाटा २५ प्रतिशतले बढेर १५ अर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार रुपियाँ पुगेको हो । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपियाँ रहेको थियो ।
११ महिनाको अवधिमा आयात २७.५ प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपियाँ भएको छ । अघिल्लो वर्ष सो अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपियाँ आयात भएको थियो । ११ महिनाको अवधिमा निर्यात भने ५३.३ प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपियाँ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ रुपियाँको निर्यात भएको थियो ।
१७ खर्ब रुपियाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दा चार खर्ब ४६ अर्ब ७९ करोड ३६ लाख रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट ११ खर्ब ९० करोड ३६ लाख ११ हजार रुपियाँ बराबरको समान आयात भएकोमा एक खर्ब ४५ अर्ब ९० करोड १३ लाख २२ हजार रुपियाँको निर्यात भएको छ । भारतसँग नौ खर्ब ५५ अर्ब २३ लाख ४९ हजार रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै चाइनाबाट २ खर्ब ४४ अर्ब २१ करोड १४ लाख ३९ हजार रुपियाँको आयात भएकोमा ७३ करोड ९० लाख ७६ हजार रुपियाँको निर्यात भएको छ ।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बढ्दो व्यापार घाटाले भुक्तानी असन्तुलन हुनुका साथै चालू खाता बढेकाले अर्थतन्त्रमा नकारात्मक सङ्केत देखिएको बताउनुयभो । ओझाले भन्नुभयो, “व्यापार घाटा कम गर्न स्थानीय उत्पादन बढाउनुका साथै निकासीमा जोड दिई आयातमा कडाइ गर्नुपर्छ ।” इन्धनको आयात धेरै भएकाले यसलाई कम गर्न वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ
११ महिनाको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । दुई खर्ब ८१ अर्ब ६१ करोड ७४ लाख ४३ हजार रुपियाँ बराबरको (पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । यस्तै सो अवधिमा ७० अर्ब १२ करोड ६२ लाख ५ हजार रुपियाँको खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ ।
यस्तै एक खर्ब १३ अर्ब रुपियाँको घिउ–तेलजन्य वस्तु र कच्चा पदार्थ, ३४ अर्ब १५ करोड रुपियाँको तरकारी, २२ अर्ब ७७ करोड रुपियाँको फलफूल, आठ अर्ब ४४ करोड रुपियाँको चिया–कफी र २७ अर्ब रुपियाँको खाद्य उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ ।
एक खर्ब ५३ अर्ब रुपियाँको फलाम र स्टिल, एक खर्ब ३३ अर्ब रुपियाँको मेसिनरी सामान, एक खर्ब १३ अर्ब रुपियाँको विद्युतीय सामग्री, ९३ अर्ब रुपियाँका गाडी, ६५ अर्ब रुपियाँको प्लास्टिक र ६४ अर्ब रुपियाँको औषधि र कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ ।
बढ्दो आयातका कारण विदेशी सञ्चिति घट्दै गएको भन्दै नेपाल राष्ट्र बैङ्कले आयातमा कडाइ गरेर पनि एक महिनामा एक खर्ब ५८ अर्ब रुपियाँले आयात बढेको छ । विभागका अनुसार वैशाख महिनामा १६ खर्ब ४४ अर्ब ५२ करोड ५१ लाख ७ हजार रुपियाँको आयात भएकोमा जेठ महिनामा बढेर १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपियाँको आयात भएको छ ।
राष्ट्र बैङ्कले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको भन्दै कडाइ गर्ने नीति लिएको थियो । नीति लिएको ५ महिना बितिसम्क्दा पनि आयात घटेको छैन । राष्ट्र बैङ्कले गत पुस र माघमा परिपत्र जारी गर्दै ४७ वटा वस्तुको आयातमा प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीति लिएको थियो ।
१४१ मुलुकसँग घाटा, २५ नाफामा
नेपालले विभिन्न १६६ देशमा वैदेशिक व्यापार आयात–निर्यात गर्ने गरेको छ । ती मुलुकमध्ये १४१ देशसँग व्यापार घाटा र २५ देशमा नाफा रहेको छ । अफगानस्थान, अल्जेरिया, अजरबैजान, बरबुन्डा, कङ्गो, डेनमार्क, फिजी आइसल्यान्डलगायतका देशमा व्यापार नाफामा रहेको छ ।