• १७ साउन २०८२, शनिबार

सिसी क्यामेरा जडानको तयारी

blog

सिसी क्यामरा जडानका लागि गरिएको समझदारी ।

ललित बसेल

सुर्खेत, साउन १७ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको शान्तिसुरक्षालाई ख्याल गर्दै चालु आर्थिक वर्षमा ३५५ वटा सिसी क्यामेरा जडान गर्ने तयारी गरिएको छ । प्रदेश राजधानी भएपछि वीरेन्द्रनगरको जनघनत्व बढ्दै जाँदा शान्तिसुरक्षामा चुनौती थपिएको, सडक दुर्घटना तथा अपराध अनुसन्धान गर्न सहज होस् भन्ने उद्देश्यले सिसी क्यामेरा जडान गर्न लागिएको हो । 

त्यसका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबिच त्रिपक्षीय सम्झौता गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका कुल १६ वटा वडामध्ये यी क्यामेरा १ देखि १४ नम्बर वडासम्म जडान गरिने छ । पहिलो चरणमा छ महिनाभित्र १०५ वटा क्यामेरा जडान गरिसक्नुपर्ने छ भने बाँकी २५० वटा क्यामेरा चालु आवभित्रै जडान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पहिलो चरणमा १०५ वटा क्यामेरा जडान गर्न ११ लाख ६९ हजार पाँच सय रुपियाँ बजेट लाग्ने नगरपालिकाले जनाएको छ । यो रकम नगरपालिका आफैँले बेहोर्ने नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार बाँकी क्यामेरा जडान गर्न नगरपालिकाले थप लागत बेहोर्ने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी थप क्यामेरा जडान गरिने छ । नगरपालिकाले क्यामेराको बजेट व्यवस्थापन गर्ने छ भने नेपाल टेलिकम प्रादेशिक कार्यालयले क्यामरामा जडान गर्ने इन्टरनेटको व्यवस्थापन गर्ने छ । प्रहरीले निगरानी तथा सुरक्षा गर्ने जनाइएको छ । त्यसका लागि नगरप्रमुख मोहनमाया ढकाल, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका निर्देशक डा. कमल लामिछाने र सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले संयुक्त हस्ताक्षर गर्नुभएको छ । उहाँले बनेका संरचनामा भने क्षति नपुर्‍याउन आग्रह गर्नुभएको छ । धेरै चहलपहल हुने क्षेत्र तथा पर्यटकीय स्थानमा पनि सिसी क्यामेरा जडान गरिने छ । सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले सिसी क्यामेरा जडानले अपराध अनुसन्धानमा सघाउ पुग्नुका साथै वीरेन्द्रनगरलाई सुरक्षित बनाउन सहज हुने बताउनुभयो । विगतमा समेत वीरेन्द्रनगरका बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिए पनि विभिन्न आन्दोलनका क्रममा आन्दोलनकारीले पहिचान लुकाउनका लागि सिसी क्यामेरामा ढुङ्गा हानेर क्षति पुर्‍याएका थिए ।