शिवालय समाचारदाता
शिवालय (जाजरकोट), साउन १७ गते । जिल्लाको नलगाड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक र कार्यालय सहयोगीले वर्ष दिनदेखि तलब नपाएर समस्यामा परेका छन् । उनीहरूले सङ्घीय सरकारले दिने रकम पाए पनि नगरपालिकाबाट दिइने रकम पाएका छैनन् । सरस्वती प्राथमिक विद्यालय नलगाड नगरपालिका–७ का बालविकास शिक्षक ओमप्रसाद शर्माले सङ्घीय सरकारबाट पाउने रकम पाएको तर नगरपालिकाबाट पाइने रकम हालसम्म नपाएको बताउनुभयो । शिक्षक शर्मा जस्तै अन्य कर्मचारीले पनि नगरपालिकाबाट तलब नपाएको गुनासो गरिरहेका छन् ।
उनीहरूले घरायसी काम छोडेर विद्यालयमा सेवा दिँदै आएको तर नगरपालिकाले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । यसैबिच करिब एक हप्ताअघि ती कर्मचारी नगरपालिकामा धाएर नाराबाजीसहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा सहभागी अधिकांश कर्मचारीले नगरपालिकाले आफूहरूलाई बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विकले नगरपालिकाभित्रका ११६ जना बालविकास शिक्षक तथा सहयोगी कर्मचारीले तलब नपाएको स्वीकार गर्नुभयो । उहाँका अनुसार कुल १६८ जना शिक्षक र कर्मचारीका लागि करिब ७८ लाख ७९ हजार रुपियाँ भुक्तानी दिन बाँकी छ । प्रमुख विकले गत आर्थिक वर्षमा नगरपालिकामा बजेट अभाव भएका कारण भुक्तानी दिन समस्या परेको बताउनुभयो । साथै आउँदो असोजको पहिलो सातासम्म बाँकी रकम भुक्तानी गरिने उहाँले बताउनुभयो ।