नागेन्द्रकुमार कर्ण
महोत्तरी, साउन १८ गते । महोत्तरी जिल्लाको विभिन्न ठाउँमा खानेपानीको समस्या रहे पनि सरकारको ध्यान सिँचाइमा मात्रै देखिएको स्थानीयको भनाइ छ । स्थानीयले खानेपानीको समस्यामा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।
जलेश्वर नगरपालिका–१ साहुजीटोलका युवा रामसागर पासवानले स्थानीय, प्रदेश र केन्द्र सरकार डिप बोरिङ जडानमा मात्रै केन्द्रित देखिएको भन्दै खानेपानी समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सिँचाइका लागि डिप बोरिङ आवश्यक छ तर जीवन बचाउन खानेपानीको आवश्यकता रहेकाले पहिला खानेपानीको समस्या समाधान गर्न म आग्रह गर्छु ।”
उक्त टोलका चालिस घरपरिवारका सदस्य अहिले एउटै धाराबाट पानी लिन बाध्य रहेको जानकारी गराउनुहँुदै नगरपालिकाले स्थानीय ट्याङ्करमार्फत पानी वितरण गर्नुपर्ने बताउनुभयो ।
जलेश्वर नगरपालिका–१ का युवा चन्द्रहास साहले हाम्रो टोलको हातेकलमा पानी नपाए पनि जलेश्वरको खानेपानी कार्यालयबाट वितरण भइरहेको पानीले ज्यान जोगिएको बताउनुहुँदै खानेपानी समस्या समाधानको दीर्घकालीन उपाय अपनाउन सरोकारवाला निकायसँग आग्रह गर्नुभयो ।
महोत्तरी मनरासिस्वा नगरपालिकाका युवा सुनील पाण्डेयले गम्भीर अध्ययन र अनुसन्धानबिना डिप बोरिङ लगाउन नहुने बताउनुहँुदै अहिले तत्काल खानेपानी समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “डिप बोरिङ समस्याको समाधान पक्कै होइन, यो क्षणिक समस्याको समाधान लागे पनि भोलिका दिनमा थप समस्या निम्त्याउने पक्का छ ।” स्थानीय सरकारले आफ्नो पालिकाको भौगोलिकता र जनसङ्ख्या अनुसार सूक्ष्म अध्ययन र अनुसन्धान गरी परम्परागत स्रोतको उपयोग गर्नु बुद्धिमानी हुने उहाँको सुझाव छ ।
यता मनरासिस्वा नगरपालिकाले पालिकाभित्र कृषि कार्यका लागि तत्काल नयाँ डिप बोरिङ जडान नगर्ने निर्णय गरेको छ । पालिकाको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले कृषिका लागि दिनभरि डिप बोरिङ चलाउँदा खानेपानीका लागि समस्या थप जटिल हुन थालेपछि पालिकाले थप नयाँ बोरिङ तत्काल जडान नगर्ने निर्णय गरेको नगरप्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो ।
पालिकाले खानेपानीको समस्यालाई समाधान गर्न हाल दैनिक दुई लाख पचास हजार लिटरभन्दा बढी खानेपानी वितरण गरिरहेको छ ।
महोत्तरी पिपरा गाउँपालिकाका युवा रामप्रसाद चौधरीले डिप बोरिङभन्दा पनि बढी पालिकामा निर्माण गरेको खानेपानी ट्याङ्की (टावर जस्तो पानी रिजर्भ गरेर राख्ने) लाई पालिकाले मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले पिपरा गाउँपालिकामा पाँच वटा खानेपानी ट्याङ्की टावर रहे पनि एउटा पनि सञ्चालनमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी ट्याङ्की टावर सञ्चालनमा भएको भए पालिकाको सम्पूर्ण वडामा खानेपानी वितरण गरिन्थ्यो यसले खानेपानीको अभाव हुँदैन थियो ।” जिल्लामा रहेका १० नगरपालिका र पाँच गाउँपालिकाले पालिकामा रहेको खानेपानी ट्याङ्की (तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने हो भने खानेपानीको समस्या हुँदैनथ्यो । महोत्तरीमा लामो समयदेखि पानी नपर्दा खानेपानीका साथसाथै सिँचाइको समेत समस्या भएको छ ।