पानी तल्तिर बग्नु
उसको कोमलता हो
कमजोरी होइन ।
तल्तिर
बग्दै बग्दै नै उसले
विशाल आकार ग्रहण गर्छ
धाराबाट खोल्सा
खोल्साबाट खोला
खोलाबाट नदी
नदीबाट महानदी ।
र, मिसिन पुग्छ सागरमा
सागर नै बन्न ।
अनि, सहजै उचालिन्छ ऊ
सगरतर्फ ।
सगरमा विचरण गर्दै गर्दै
संसारतिर हेर्दै हेर्दै
देख्छ उसले
सुक्खा धरती
र, प्यासले छटपटाएका अनगन्ती प्राणी ।
अनि, पानी
बोधिसत्व जस्तै
संसारबाट पर
आकाशको उचाइमा पुगिसक्दा पनि
झरिदिन्छ दुःखले भरिएको धरतीमा
दुःखीहरूको उद्धार गर्न
स्वयं फेरि फेरि
दुःख खेप्दै बग्नु परे पनि !