• १७ साउन २०८२, शनिबार

प्रतापपुरमा करिब १३ करोडको प्रशासनिक निर्माण

blog

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका तस्बिर: कल्पना खरेल

कल्पना खरेल
नवलपरासी पश्चिम, साउन १७ गते ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा करिब १३ करोडको लागतमा प्रशासनिक भवन र प्रसुति भवन निर्माण भएका छन् ।

सङ्घीय सरकारको पाँच करोड ४० लाख र गाउँपालिकाको ६ करोड नौ लाख गरी कुल ११ करोड ४९ लाखमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर आनन्द यादवले जानकारी दिनुभयो ।

भवन नहुँदा गाउँपालिकाले दुई वटा घर भाडामा लिएर सेवा प्रभाह गर्दै आएको थियो । अध्यक्ष उमेशचन्द्र यादवका अनुसार भवन निर्माण पश्चात गाउँपालिकाको आर्थिक व्ययभार घट्नुका साथै सेवा विस्तारमा थप सहज हुनेछ । चार तले भवनमा कार्यपालिका बैठक कक्ष, सभा कक्षसहित ३४ कोठा छन् । दुई वर्षअघि निर्माण सुरु गरिएको भवनको काम गत जेठमा सकिएको हो ।

यसैगरी, सङ्घीय सरकारको ३८ लाख, प्रदेश सरकारको २५ लाख ६९ हजार र गाउँपालिकाको ७० लाख गरी कुल एक करोड ३३ लाख ६९ हजारमा प्रसुति भवन निर्माण गरिएको छ । यो भवन दुई तलाको छ । प्रसुति भवनमा भिडियो एक्सरेसमेत रहेको छ । डेढ वर्षअघि निर्माण सुरु गरिएको भवनको काम गत फागुनमा सकिएको हो । गाउँपालिकाले योसँगै चार स्थानबाट प्रसुति सेवा प्रदान गरिँदै आइएको छ ।