विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन १७ गते । सप्तरीको रुपनी गाउँपालिकामा लम्पी स्किन सङ्क्रमित पशुहरुको रगतको नमुना सङ्कलन गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको विशेष पहलमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरबाट शुक्रबार आएको टोलीले वडा नम्बर ४ मा लम्पी स्किन सङ्क्रमित पशुहरुको रगतको नमुना सङकलन गरेको हो ।
पशु चिकित्सक डा. राकेश कुमार साहको नेतृत्वमा आएको प्राविधिक टोलीले परीक्षणका लागि नमुना सङ्कलन गरेको रुपनी गाउँपालिकाका पशु विकास शाखा प्रमुख हरिगवन साहले जानकारी दिनुभयो ।
उहाँले पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिसकेपछि लम्पी स्किन रोगबारे वास्तविक जानकारी आउने बताउनुभयो ।
दुई साता यता लम्पी स्किन रोगबाट रुपनी ४ स्थित भथौल टोलमा हालसम्म ब्रहम्देव यादव, भुवनेश्वर साह र गंगाराम मडरको एक–एकओटा गरी तीन वटा पशुको मृत्यु भइसकेको छ ।
रुपनी गाउँपालिकामा वडा नम्बर १ मा एक, ३ मा सात, ४ मा २५, ५ मा सात र ६ मा ४ गरी ४४ वटा गाई, गोरु तथा बाछाबाछीमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ ।
पालिकाबाट खटिएको पशु प्राविधिक टोलीले लम्पी स्किन रोगको सङ्क्रमण देखिएका टोलबस्तीमा पुगेर उपचार गर्नुका साथै निरोगी पशुहरुमा भ्याक्सिन लगाउने कार्य अगाडि बढाइएको रुपनी गाउँपालिकाले जनाएको छ ।