• १७ साउन २०८२, शनिबार

सप्तरीमा सिँचाइका लागि गाडिएका २३ वटा ट्युबवेल प्रयोगविहिन

blog

सप्तरीको मटीगढी गाउमा सिँचाइका लागि गाडिएको डिप ट्युबवेल । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, साउन १७ गते ।
सप्तरीमा सिँचाइ सुविधाका लागि केही वर्षअघि गाडिएका ४३ वटामध्ये २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा विभिन्न पालिकाहरुमा ती ट्युबवेल गाडिएको छ । सप्तरीको विभिन्न पालिकामा जडान गरिएको डिप बोरिङ लामो समय बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

जिल्लामा ४३ मध्ये १७ वटा मात्र अहिले सञ्चालनमा रहेको छ भने २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् ।
सप्तरी र सिरहामा भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले मुख्य रुपमा डिप बोरिङ जडान गर्ने गरेको छ । उक्त कार्यलय मार्फत हालसम्म सप्तरीमा ४३ वटा डिप बोरिङ जडान भएको छ । तर सोमध्ये १७ वटा मात्र सञ्चालनमा रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । केहीमा ट्रान्सफर्मर चोरी भइसकेको छ भने केहीबाट बालुवा आउने गरेकोले पुनः जडान गर्नुपर्ने अवस्था रहेको कार्यलय प्रमुख विकास ठाकुर बताउनुहुन्छ ।

यस सुक्खाग्रस्त अवस्थामा किसानले डिप बोरिङ गाडे पनि सञ्चालन हुन नसक्दा राज्यको लगानी व्यर्थ जानुका साथै प्रयोगविहीनले खडेरीको मार खेप्न बाध्य रहेको स्थानीय कृषक महेन्द्र यादव बताउनुुहुन्छ ।

ट्युबवेलसम्बन्धी जानकार बद्री यादवले ट्युबवेल गाडिएको केही महिनाभित्र सञ्चालनमा ल्याइसक्नुपर्छ । अन्यथा फिल्टर जाम भएर पानी नआउने अवस्था आउनसक्छ । त्यस्तै, बालुवा थुप्रिएर बोर होल नै बन्द हुनसक्ने उहाँले बताउनुभयो ।

राजविराज १० का सुरेन्द्र यादवले जमिन मुनिको पानी तानेर खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले गाडिएको ट्यबवेल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले ट्युबवेल सञ्चालन नआउँदा यहाँका किसान सिँचाइ समस्याले मारमा परेको जानकारी दिनुभयो ।  उहाँले अहिले मटिगढीलगायत तराई मधेशका गाउँमा सिँचाइ अभावले धान रोपाइँ प्रभावित भएको छ । यति बेला ट्युबवेल सञ्चालनमा रहेको भए यहाँका किसानलाई धान रोप्न आकासे पानी कुरेर बस्नु पर्दैन्थ्यो । पालिकाले विद्युत लाइन जडान र अन्य आवश्यक उपकरण जडान गरेर ट्युबवेल शीघ्र सञ्चालन ल्याउनुपर्ने यादवको भनाइ छ ।

स्थानीय किसान रामनारायण सुतियारले सिँचाइ अभावकै कारण यो वर्ष धान रोप्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्युबवेल सञ्चालनमा आएको भए यो अवस्था आउने थिएन । स्थानीय सरकारले समयमै ध्यान नदिँदा ठुलो लगानीमा गाडिएको सिँचाइ पूर्वाधार प्रयोगविहीन बनेको छ ।” ट्युबवेल सञ्चालनमा ल्याउन पटकपटक माग गर्दै आएको भए पनि सुनुवाइ नभएको सुतियारले जानकारी दिनुभयो ।

अर्का किसान भागवत साहका अनुसार डिप ट्युबवेल गाड्ने बेला निकै खुसी देखिएका यहाँका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निरास भएका छन् । वर्षौंदेखि सिँचाइ समस्या झेल्दै आएका यहाँका किसान यसपाली वर्षा नहुँदा झन् निराश बनेका छन् । सिँचाइ अभावकै कारण धान खेतबाट यस वर्ष पर्याप्त उत्पादन नहुने उहाँले बताउनुभयो ।