जीवछ यादव
लहान, साउन १७ गते । लहान नगरपालिका– २४ खेसराहामा खानेपानीको हाहाकार भएपछि शुक्रबारदेखि ट्याङ्कीबाट खानेपानी वितरण सुरु गरिएको छ । दलित जनकल्याण युवा क्लव लहानले विकन परियोजना वाटरएडको सहयोगमा लहान खानेपानी कार्यालयले उपलब्ध गराएको दुई हजार लिटर खोपानी वितरणको सुरुवात लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले वितरण गर्नुभएको हो ।
तीन महिनासम्म प्रति व्यक्ति चार लिटरको दरले प्रतिदिन खानेपानी वितरण गरिने उहाँले बताउनुभयो । यस बस्तीमा खानेपानीको हाहाकार भएको सूचना पाएलगतै खानेपानी वितरणका लागि विकन परियोजना र दलित जनकल्याण युवा क्लव लहानको पहलमा खानेपानी वितरण गर्न सुरु गरिएको नगरप्रमुख चौधरीले भन्दै खानेपानीका लागि समर्सियल बोरिङगको भरपर्दो व्यवस्था नभएसम्म तीन महिनासम्म वितरण गरिने जानकारी दिनुभयो ।
लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने वडा नम्बर १५, १६, १७ र १८ नम्बर वडाहरुमा जहाँ जहाँ खानेपानीको सङ्कट देखिनेछ त्यस बस्तीमा टयङ्कीबाट खानेपानी पुर्याउने कार्यको सुरुवात शुक्रबारबाट गरिएको दलित जनकल्याण युवा क्लवको अध्यक्ष उमेश विसुन्केले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तीन महिना खानेपानी कार्यालय लहानले उपलब्ध गराउने पानी ट्याक्टरमा दुई हजार लिटरको ट्याङ्कीबाट पुर्याउन विकन परियोजनाले २० लाख रकम विनियोजन गरेको छ भने थप सहयोगका लागि लहान नगरपालिका र लहान खानेपानी कार्यालयसँग समेत समन्वय भइरहेकोछ ।’’
खानेपानीको हाहाकार भएपछि १५ घर रहेको दलित बस्तीमा जीवन नै सङ्कटमा पर्न थालेको अवस्थामा लहान नगरपालिकाले खानेपानीको प्रबन्ध गरिदिएपछि ठूलो राहत भएको स्थानीय पूर्ण बहादुर सार्कीले सुनाउनुभयो । लुगा धुन, नुहाउन र गाईभैँसी चौपायाहरुलाई पानी खुवाउन समेत समस्या भएकाले समर्सियल बोरिङगको व्यवस्था यथाशिघ्र गरिदिन समेत पानी वितरण गर्न पुग्नु भएको नरगप्रमुख महेश प्रसाद चौधरीसँग माग गर्नु भएको थियो ।
सीमसार क्षेत्र रहेको सलहेस फूलबारी र सरसवती खोलामा समेत पानी सुकी सकेपछि हातेकल र सिँचाइका लागि प्रयोग गरिने विद्युत मोटरमा पानी सुक्न थालेको यस्तो खडेरी कहिलेपनि नदेखेको लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादवले सुनाउनुभयो ।
इनार पोखरी र हाते कल सबै सुक्ने सङ्केतदेखि सकेकाले दीर्घकालीन समस्याको समाधान चुरेको संरक्षण नै रहेकोले यसतर्फ तीनै तहको सरकारको ध्यान केन्द्रित हुनुपर्ने वातावरणविद् दिनेश यादवले तर्क गर्नुभयो । वातावरणविदहरुले केहि दशक अघिदेखि नै चुरे संरक्षणको लागि ध्यान केन्द्रित गराएपनि सम्बन्धित निकायहरुले ध्यान नदिँदा समस्या जटिल बन्दै गएको अर्का वातावरण क्षेत्रमा कार्य गरिरहनु भएको चन्द्रकिशोर कल्याणले बताउनुभयो ।