चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङमा धारिलो खुकुरी प्रहरी गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । प्रहरीका अनुसार आठराई त्रिबेणी गाउँपालिका–४ चाँगे, आहालेका २२ वर्षीय मनकुमार विकले भाइ रोसन विकको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शुक्रबार साँझ ६ बजेतिर सामान्य घरायसी विवाद हुँदा दाजु मनकुमारले भाइ रोशनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट विकको घटनास्थलमै मृत्यु भएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
वडाध्यक्ष अर्जुन आङ्बुहाङ लिम्बूले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । दोभानबाट गएको प्रहरी टोलीले घटनामा संलग्न मनकुमारलाई धारिलो खुकुरीसहित नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रनाउ गौतमले बताउनुभयो ।