अमरराज नहर्की
तनहुँ, साउन १७ गते । बाँदर आतङ्क नरोकिएसम्म कोदो खेतीमा आत्मनिर्भर बन्न नसकिने तनहुँका किसानहरुको गुनासो छ । राष्ट्रिय कोदो दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले शुक्रबार दमौलीमा गरेकोे सचेतना कार्यक्रममा गुनासो गरेका हुन् ।
दुःख गरेर लगाएको खेती बाँदरको सङ्ख्या बढेर किसानले भित्र्याउन नपाउँदै खाने तथा नष्ट गरिदिने गरेको गुनासो किसानको छ । व्यास नगरपालिका–१४ केशवटारमा रहेको केशवटार रुम्सी होमस्टेको सदस्य सरस्वती थापा मगरले गाउँमा बाँदरहरु हुलका हुल आएर कोदो खाने भएकोले किसानलाई खेती गर्न समस्या परेको बताउनुभयो ।
थापाले भन्नुभयो, ‘‘धेरै पाहुनाहरुको रोजाई कोदाको परिकार र जुस हुने गरेको छ तर बाँदरले खाने तथा नष्ट गरिदिने भएकोले खेती लोप हुने अवस्थामा पुगेको छ ।’’ दुःख गरे अनुसारको आम्दानी कम हुने र त्यसमाथि बाँदरले सताउने भएकोले गाउँमा जमिन बाँझो हुने क्रम बढेको उहाँको भनाइ थियो ।
कोदोमा आत्मनिर्भर बन्न, बाँदर आतङ्क रोक्न र किसानलाई अनुदानको व्यवस्था गर्नु पर्ने सुझाव थापाले दिनुभयो । कोदोबाट बनाउने जुस (स्थानीय मदिरा)को माग धेरै भए पनि कानुनले बेच्न पाउने व्यवस्था नभएकोले खेती प्रति आकर्षण घटेको स्थानीय किसान विकास गुरुङको भनाइ छ । गुरुङले भन्नुभयो, ‘‘बाँदर र पुलिसले दुःख दिन्छन् अनि कसरी कोदोमा आत्मनिर्भर बन्न सकिन्छ ।’’
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय बाली प्रवर्धन कार्यक्रमअन्तर्गत कोदो खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने बताउनुभयो । बजारमा बस्नेहरुको व्यायामको कमि लगायतले गर्दा सुगरका बिरामी बढिरहेकोले धनीहरुले खाने खाना कोदो भएकाले माग बढेकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याईएको न्यौपानेले बताउनुभयो । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘माग धेरै बढेकाले कोदो खेती विस्तार गर्न किसानलाई प्रोत्साहन कार्यक्रम ल्याएका छौं ।’’ साथै उहाँले कोदोको जुसको सम्बन्धमा गण्डकी प्रदेश सरकारले कोदोबाट बन्ने मदिरालाई ब्रडिङ गर्ने तयारी गरिरहेकाले किसानलाई लाभ हुने अवस्था बन्न लागेकोले खेती विस्तार गर्न किसानलाई आग्रह गर्नुभयो ।
व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले कोदोमा पोष्टिकता धेरै हुने भएकाले गर्भवती तथा सुत्केरी महिला र बालबालिकाले खानुपर्ने बताउनुभयो । गर्भवती महिलाको पोष्टिकताका लागि पाँच हजार नगद पुरस्कारको व्यवस्था गरेको स्मरण गर्दै दरैले कोदो खान अनुरोध गर्नुभयो । साथै उहाँले विद्यालयमा साताको एक दिन कोदोको परिकार बालबालिकालाई खुवाउने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले कोदो खेती गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहनका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो । गैरेले भन्नुभयो, ‘‘किसानसँग हातेमालो गर्दै कोदो खेती गर्ने किसानलाई सहयोग गर्छौ ।’’ कृषि अधिकृत समिक्षा पोख्रेलले रासायनिक मल र विषादीको प्रयोग नगरीकन कोदो राम्रो उत्पादन गर्न सकिने र धेरै दुःख नहुने भएकोले यो खेती किसानको लागि उपयुक्त भएको बताउनुभयो ।
पोख्रेलले भन्नुभयो, ‘‘पोष्टिकता धेरै हुने र विषादीको प्रयोग नगरिने भएकोले उपभोक्ताको हितमा छ, बजारमा माग धेरै भएकोले किसानलाई बिक्री नहुने समस्या छैन ।’’
वरिष्ठ नर्सिङ अधिकृत कल्पना कोइराला दाहालले कोदोमा पोष्टिकता हुने भएकोले गर्भवती, सुत्केरी, विरामी सबैको लागि उपयुक्त हुने भएकाले यसको महत्व बढी रहेको बताउनुभयो । कोदोको पोष्टिकताको बारमा नगरपालिका सबै महिला स्वास्थ्य स्वएम् सेविकालाई प्रशिक्षण प्रदान गरिएर गाउँ गाउँमा चेतना पु¥याउने काम गरिएको जानकारी दाहालले दिनुभयो ।
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलो पटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाएको छ । सोही अवसरमा नगरपालिकाले कार्यक्रम गरेको हो । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि शुक्रबार साउन १६ गते दिवस मनाइएको हो ।