• १७ साउन २०८२, शनिबार

चालिसेको स्मृतिमा श्रद्धाञ्जली सभा

blog

काठमाडौँ, साउन १७ गते । अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसे कीर्तिशेष हुनुभएको दुई महिना पारेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । रामहिटी, बौद्धमा २१ वटा साहित्यिक संस्थाको संयोजन गर्दै साहित्य सदनले आयोजना गरेको उक्त श्रद्धाञ्जली सभामा विभिन्न वक्ताले चालिसेका योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा अर्पण गरेका थिए । 

कार्यक्रममा समालोचक ठाकुर शर्माले चालिसेका बहुविधामा ५६ कृति प्रकाशित भएको जानकारी दिनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले स्कुले जीवनमा आफ्ना गुरुसमेत रहनुभएका चालिसेसँग साहित्यिक, सामाजिक क्षेत्रमा काँधमा काँध जोडेर काम गर्ने अवसर पाएको स्मरण गर्दै उहाँ जस्ता प्रतिभाको सहयोग, प्रेरणा र हौसलाले गर्दा नै गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रमा अनुकरणीय काम गर्न सफल भएको बताउनुभयो ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिता क्षेत्रमा लामो समय बिताए पनि साहित्यिक क्षेत्रमा उत्तिकै अब्बल हुनुहुन्थ्यो भन्नुभयो । उहाँले लेखक–साहित्यकार  गहना नभई स्पन्दन हो भन्नुहुँदै चालिसेको अन्तिम बिदाइमा गोकर्णेश्वर नगरपालिकाले गरेको सलामीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

चालिसेका कान्छा सुपुत्र आलोकले भूमिका पिताले निर्वाह गर्नुभएको सामाजिक, शैक्षिक, पत्रकारिता र साहित्यको पाटोबारे स्मरण गर्दै उहाँको योगदानलाई स्थायी बनाउन विजयलक्ष्मी ट्रस्ट स्थापना गर्न लागिएको बताउनुभयो ।