प्रकाश सिलवाल
काठमाडौँ, साउन १७ गते । वर्तमान सरकार गठन भएको एक वर्ष व्यतीत हुँदा विकास निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाका कामले गति लिन थालेका छन् । ‘थालेका काम सक्ने’ भन्ने प्रधानमन्त्री ओलीको सङ्कल्प र त्यस सङ्कल्पलाई कार्यान्वयनका लागि मन्त्री र सचिवहरूलाई विभिन्न समयमा उहाँले दिनुभएको निर्देशनसँगै प्रगति देखिन थालेको हो ।
निर्माणाधीन आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माणाधीन विकास आयोजनाको तीव्र अनुगमन गरी विकासको गति र कार्यसंस्कृतिमा सुधार ल्याउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नियमित अनुगमन र ‘फलोअप’ गरिरहेको छ । अघिल्लो सरकारको कार्यकालमा रोकिएका, झमेला भएका, ढिलासुस्ती देखिएका, रुख कटान र न्यून बजेटलगायत समस्या बेहोरेका आयोजनालाई प्रधानमन्त्री ओली आफैँले विशेष चासो दिएपछि प्रगति देखिन थालेको हो ।
वर्तमान सरकारले राष्ट्रिय राजमार्गका रूपमा रहेको मुग्लिङ–पोखरा सडक (पूर्वी खण्ड) सम्पन्न हुने अवस्थामा पुर्याइएको छ भने ठप्प प्रायः रहेको कमला–कञ्चनपुर सडकको निर्माण कार्यलाई गति दिई सो खण्डमा ६६ प्रतिशत उपलब्धि हासिल गरेको छ । अघिल्लो सरकारका पालामा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायगढ–बुटवल सडकखण्डमा प्रधानमन्त्री आफैँले अग्रसरता लिएपछि ७० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।
प्रवेशविन्दुमा रेखाङ्कनको विवादका बिच काठमाडौँ–तराई/मधेश द्रुतमार्गमको प्रगति ३५ प्रतिशतबाट बढेर ४२.१३ प्रतिशत पुगेको छ । यस्तै काँकडभिट्टा–लौकही पूर्वी खण्डमा ६ प्रतिशतबाट २२.१२ प्रतिशत, पश्चिम खण्डमा ४.७ प्रतिशतबाट २२.१ प्रतिशत पुगेको छ । मुग्लिङ–पोखरा सडकको पूर्वी खण्ड ६० प्रतिशतबाट ८२.७४ प्रतिशत पुगेको छ भने पश्चिम खण्ड ४५ प्रतिशतबाट ५४.१ प्रतिशतमा पुगेको प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी नागढुङ्गा सुरुङमार्गको प्रगति ६६ प्रतिशतबाट ९२.५ प्रतिशत, सिद्धबाबा सुरुङमार्ग सडकको प्रगति १६ प्रतिशतबाट ५८.३ प्रतिशतमा उक्लिएको उहाँले बताउनुभयो । केही आयोजना जस्तै कमला–ढल्केबर–पथलौया सडक र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक २०८१ र ८२ मा मात्र सुरु गरिएका हुन्, जसमा प्रारम्भिक प्रगति क्रमशः १०.९१ र १२.२३ प्रतिशत छ । कालीगण्डकी करिडोरमा ६४.८ बाट ७९.८ प्रतिशत, बेनी–जोमसोम–कोरोला खण्डमा ७२ बाट ८५ प्रतिशत र तमोर करिडोरमा २५ बाट ५६ प्रतिशत प्रगति भएको छ ।
प्रधानमन्त्री ओलीकै सक्रियतामा तराई/मधेश फास्ट ट्र्याकदेखि पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकही खण्ड, मध्यपहाडी राजमार्ग सडक विस्तार र स्तरोन्नतिले गति लिएका छन् । प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार लामो समयसम्म अन्योलमा रहेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक निर्माणका लागि यस सरकारले विशेष अनुगमन गरी साइट क्लियर गराई ठेक्का सम्झौताको चरणमा पुर्याइएको छ ।
हाल सो सडकमा रुख कटान, साइट क्लियरेन्सलगायत काम सकेर १२ प्रतिशत प्रगति भइसकेको अवस्था छ । यस सरकारले मुलुकमा पूर्वपश्चिम राजमार्गभित्र आठ मुख्य खण्डमा छुट्याएर काम गरिरहेको छ भने नेपाल, भारत र चीनबिचको व्यापारिक तथा रणनीतिक मार्ग मानिएका उत्तर दक्षिण लोकमार्ग प्राथमकिता दिँदै हुम्लालाई राष्ट्रिय सडक पहुँचमा जोडेको छ ।
नेकपा (एमाले) र नेपाली कांग्रेससहितको अहिलेको सरकारले मुलुकभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणसहित राष्ट्रिय मार्गचित्रका आयोजना सुरुवात गरेको थियो । यो सरकारले सडक पूर्वाधारमा एसियाली मापदण्डस्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरुङमार्ग निर्माणलगायत पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गर्दै आइरहेको छ ।
विगतमा ओली सरकारकै पालामा नेपाल सुरुङमार्गमा प्रवेश गरेको हो र नागढुङ्गा सुरुङमार्गमा छिट्टै निर्बाध रूपमा सवारीसाधन गुड्ने तयारीमा सरकार लागेको छ । प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङमार्गमा ५८ प्रतिशत काम भई नयाँ आयाम थपिएको छ । ओली सरकारले ग्वार्काे फ्लाइओभर आयोजना सम्पन्न गरेको छ । यस प्रविधि र पहुँच अन्य सहरमा लागु गर्ने रणनीतिमा जुटेको छ ।
यस समयमा हुलाकी राजमार्गले करिब ७३ प्रतिशत समष्टिगत कार्यप्रगति हासिल गरेको छ । यसै गरी अहिलेको सरकारको पालामा कुल सडकको थप ९३२ किमी सडक कालोपत्रे भएको छ । अघिल्लो सरकारको पालामा ६५७ किमी सडक कालोपत्रे भएको थियो ।