• १७ साउन २०८२, शनिबार

प्रधानमन्त्री भोलि तुर्कमेनिस्तान प्रस्थान गर्नुहुँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान प्रस्थान गर्नुहुने भएको छ । भूपरिवेष्ठित विकासशील देशहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्न लाग्नुभएको हो । 

प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले साउन २० देखि २३ गतेसम्म चल्ने उक्त सम्मेलनमा सहभागी हुन संयुक्त रूपमा निमन्त्रणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष तथा नेपाल सरकार प्रमुखको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

साथै उहाँले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सहअध्यक्षता र अन्य कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुख र संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च प्रतिनिधिसँग भेटवार्ता गर्नुहुने जनाइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाललगायत उच्च सरकारी अधिकारी रहनुहुने जनाइएको छ । प्रधानमन्त्री ओली साउन २३ गते नै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।