• १७ साउन २०८२, शनिबार

पोखरामा एक अर्बमा ११७ किमी साइकल ट्रयाक बनाइने

blog

‘लेक टु लेक’ साइकल ट्रयाक निर्माणको गुरुयोजनाबारे शुक्रबार एडिबी र सरोकारवालाबीच भएको छलफलका सहभागी। तस्बिरः गोरखापत्र

लेखनाथ, साउन १६ गते। कास्कीको पोखरा महानगरपालिकाका ताललाई आपसमा जोड्ने महत्वाकांक्षी ‘लेक टु लेक’ साइकल ट्रयाक निर्माणको गुरुयोजना तयार भएको छ। एसियाली विकास बैंक (एडिबी) को करिब एक अर्ब रुपियाँको आर्थिक सहयोगमा बन्ने एक सय १७ किलोमिटर लामो यो पूर्वाधारले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय कोसेढुंगा साबित हुने अपेक्षा गर्नुभयो। “यसले संसारभरका साइकल प्रेमीलाई पोखरामा आकर्षित गर्ने छ। पर्यटकले हिमाल हेर्दै तालको किनारमा साइक्लिङको आनन्द लिन पाउनेछन्,” उहाँले भन्नुभयो।  

प्रमुख आचार्यले यो परियोजना मानव स्वास्थ्य र पर्यावरण संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो। पोखरा दिगो पर्यटन विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको ट्रयाकको गुरुयोजनाबारे शुक्रबार एडिबी मिसन र सरोकारवालाबीच छलफल भएको छ। 

आयोजनाकी व्यवस्थापक कविता पौडेलले एडिबीको टोलीले प्रस्तावित रुट अवलोकनसमेत गरिसकेको जानकारी दिनुभयो। गुरुयोजनामा तालको भित्री र बाहिरी गरी दुई मुख्य रुट (इनर र आउटर) सहित विभिन्न कनेक्टिङ रुट प्रस्ताव गरिएका छन्। जसको कुल लम्बाई एक सय १७ किलोमिटर हुनेछ।

पोखरा महानगरमा तालको स्वरुपमा रहेका आठ ताल छन्। महानगरमा फेवा, वेगनास, रुपा, दिपाङ, कमलपोखरी, खास्टे, मैदी र न्युरेनी ताल छन्। अहिले फेवाताल र वेगनासतालमा व्यावसायिक डुंगा सयरसहित बजार पर्यटनको विकास भएको छ। रुपाताललाई विस्तार गर्ने गरी बृहत योजना कार्यान्वयनमा छ। अरु तालमा भने पूर्वाधार विकाससहित राम्रो पहुँच मार्ग बनाउन जरुरी छ।