• १७ साउन २०८२, शनिबार

गुल्मीमा कोदो उत्पादन घट्दाे

blog

रमेश विश्वकर्मा 

गुल्मी, साउन १६ गते । गुल्मीमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा प्रत्येक वर्ष उत्पादनको क्षेत्रफल घट्दै जाँदा उत्पादनसँगै उत्पादकत्वमा पनि गिरावट आएको पाइएको छ । 

कोदो उत्पादनको पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार कोदो उत्पादनको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व पनि घट्दै गएको पाइएको छ । विशेषगरी पछिल्लो समय बसाइँसराइ, वैदेशिक रोजगार, जनशक्ति अभावका कारण कोदो उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताउनुभयो । केन्द्र गुल्मीको तथ्याङ्क अनुसार आव २०७८–०७९ मा दुई हजार ९०२ हेक्टर क्षेत्रफलमा तीन हजार २७८ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा एक दशमलव १३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । 

आव २०७९–०८० मा दुई हजार ९२१ हेक्टर क्षेत्रफलमा तीन हजार ८२६ दशमलव ५१ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा एक दशमलव ३१ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । आव २०८०–०८१ मा दुई हजार ८८३ हेक्टर क्षेत्रफलमा तीन हजार ६९० दशमलव २४ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा एक दशमलव २८ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । आव २०८१(०८२ मा दुई हजार ८५० हेक्टर क्षेत्रफलमा तीन हजार ६४८ दशमलव मेट्रिक टन कोदो उत्पादन भएको थियो । 

चालू आव २०८२(०८३ मा दुई हजार ८२२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा तीन हजार ६१२ दशमलव आठ मेट्रिकटन उत्पादन हुने अनुमानित प्रक्षेपण गरिएको छ । यस जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिएको छ । हालसम्म यो वर्ष कोदोको ७२ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली मानिन्छ । 

बीउ उत्पादनका क्रममा जङ्गली जनावर, जङ्गली बाख्रा खरायोलगायतका जनावरले किसानलाई निकै समस्या दिएको उहाँले बताउनुभयो । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले रैथाने बालीहरुको संरक्षणका लागि कृषकहरुलाई रैथाने बाली सम्बन्धि कृषक प्रशिक्षण तथा क्षमता विकास तालिम, रैथाने बाली प्रर्वद्धन कार्यक्रम, प्रर्दशनलगायतका कार्यक्रमहरु संचालन गर्दै आएको सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले बताउनुभयो ।