• १७ साउन २०८२, शनिबार

रौतहटमा बढ्यो काठ तस्करी

blog

कालापानी सामुदायिक वन उपभोक्ता समूहको घाटगद्धी पश्चिमको वनबाट बरामद काठ । तस्बिर सौजन्य : गैंडाटार सब–डिभिजन वन कार्यालय

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १६ गते ।
रौतहटको वन क्षेत्रमा सालको काठको अवैध तस्करी वृद्धि भएको जनगुनासो बढेपछि रौतहटका वन कर्मचारीले निगरानी बढाएका छन् ।

वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएको गैंडाटार सब–डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मी कर्णले बताउनुभयो । काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली नियमित रुपमा खटिएको रेञ्जर कर्णले बताउनुभयो ।

रेञ्जर कर्णका अनुसार काठ तस्करी रोकथामका लागि नियमित गस्ती बाहेक सुराकी परिचालन, समुदाय स्तरमा चोरी सिकारी नियन्त्रण टीम परिचालन, समुदायमा जनचेतना, समुदायमा आधारित वन व्यवस्थापन समूहहरुसँग निरन्तर छलफल तथा अन्तरक्रिया, सुरक्षा निकायसँग निरन्तर समन्वय लगायतका क्रियाकलापमा जोड दिइएको जानकारी दिनुभयो ।

यस क्रममा डिभिजन वन कार्यालय रौतहटअन्तर्गत गैंडाटार सब डिभिजन वन कार्यालयबाट रेन्जर  कर्णको नेतृत्वमा रहेको गस्ती टोलीले साउन १४ गते राति कालापानी सामुदायिक वन उपभोक्ता समूहको घाटगद्धि पश्चिमको वनबाट दुईवटा साइकलमा लोड भएको ४ दशमलब ६६ क्युफिट सालको चिरान काठ बरामद गरेको छ ।

त्यस्तै साउन १३  गते राती जङ्गलसहिया सब डिभिजन वन कार्यालयका वन अधिकृत विनोद जेठाराले काठ लोड गरिएको स्कार्पियोलाई रोकेर चेक जाँच गर्न खोज्दा नरोकी फरार भएपछि  पछ्याउँदै जाँदा कटहरिया नगरपालिका–१ भसेडवाबाट काठसहित भारतीय नम्बर प्लेटको स्कार्पियो नियन्त्रणमा लिएको छ ।

वन अधिकृत जेठाराका अनुसार एमएच ०४ डिबि ६३५३ नम्बरको भारतीय स्कार्पियो गाडीभित्रबाट चार थान काँचो सालको गोलिया करिब ४६ क्युफिट बरामद भएको छ ।

वनबाट हुने अवैध काठ तस्करी रोकथाम गर्न कार्यालय सक्रिय रहेको बताउनुहुँदै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्तप्रसाद साह अवैध काठ तस्करी शून्यमा झार्ने रणनीतिसहित नियमित गस्तीलाई सशक्त रुपमा अगाडि बढाइएको बताउनुभयो ।

यति बेला रौतहटको राष्ट्रिय एवम् सामुदायिक वन क्षेत्रबाट व्यापक मात्रामा काठको तस्करी भइरहेको स्थानीयको गुनासो छ । समय समयमा यति मात्रामा तस्करीको काठ बरामद हुँदा रौतहटको वन क्षेत्रबाट तस्करी भइरहेको पुष्टि भएको छ ।