• १७ साउन २०८२, शनिबार

स्वास्थ्य मन्त्री खेम सारुद्वारा स्वास्थ्य संस्थाको निरीक्षण

blog

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु बर्दघाट नगरपालिकामा रहेका चिसापानी अस्पतालको अनुगमन गर्दै । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, साउन १६ गते ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पश्चिम नवलपरासीका विभिन्न स्वास्थ्य संस्थाको निरीक्षण गर्नुभएको छ । उहाँले बर्दघाट नगरपालिकामा रहेका चिसापानी अस्पताल र शहीद स्मृति अस्पताल चौपत्ता को अनुगमन गर्नुभयो ।

त्यसैगरी, उहाँले सुस्ता–५ स्थित निर्माणाधीन स्वास्थ्य इकाई केन्द्रको पनि स्थलगत अनुगमन गर्नुभयो । यसका साथै, मन्त्री सारुले प्रतापपुरमा रहेको महिला स्वास्थ्य सेवा केन्द्रलाई एक थान भिडियो एक्सरे मेसिन पनि हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य संस्थाहरूको निरीक्षणपछि मन्त्री सारुले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यकताअनुसार उपकरण र जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अनुगमनका क्रममा बर्दघाटका नगरप्रमुख शम्भुलाल श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्न मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

त्यसको जवाफमा मन्त्री सारुले चिसापानी अस्पतालका लागि दुई जना एमबीबीएस चिकित्सक (मेडिकल अधिकृत) र शहीद स्मृति अस्पतालका लागि एक  सी–आर्म मेसिन र एक डीआर सिस्टमको एक्स–रे मेसिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले नागरिकलाई नगरमै गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रदेश र सङ्घीय सरकारसँग विगतदेखि नै उपकरण र जनशक्ति माग गर्दै आएको बताउनुभयो । चिसापानी अस्पतालमा हाल दैनिक १५० जनाले सेवा लिने गरेको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी, चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पतालले मुख्यगरी प्रतापपुर सुस्ता र बर्दघाट नगरपालिकाका स्थानीयलाई सेवा दिँदै आएको छ । उक्त अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य युवराज डुम्रेले प्रदेश सरकारले उपकरण उपलब्ध गराएमा बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन सकिने जानकारी दिनुभयो ।