• १७ साउन २०८२, शनिबार

सञ्चालनमा आएन अल्कासाँघु पुल

blog

सञ्चालनमा आउन नसकेको पुल । तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, साउन १६ गते । मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको गमघाट अल्कासाँघु नदीमा बनेको पुल मुआब्जाका कारण सञ्चालनमा आएको छैन । नाकच्यालाग्न सडक र नाग्म लोकमार्ग जोड्ने गरी बनेको सो पुल निर्माण भएको तीन महिना भयो तर सो पुलमा हालसम्म गाडी गुड्न पाएका छैनन् । छायानाथ रारा नगरपालिकाले जग्गाधनी धनबहादुर मल्लसँग विसं २०८० मङ्सिर ५ र २०८१ वैशाख ३ गते गरी दुई पटक मुआब्जासम्बन्धी सहमति गरिएको थियो तर पुल निर्माण भए पनि सहमति अनुसार मुआब्जा नपाएको भन्दै जग्गाधनी मल्लले पुल हुँदै गाडी गुड्न दिनुभएको छैन । पुल निर्माणका क्रममा मल्लको ५८८.७५ वर्गमिटर खेतीयोग्य जमिन ओगटेको छ । 

पुलको छेउमा रहेको आफ्नो जग्गा जहाँबाट पुल हुँदै पूर्वतर्फ बाटो गएको छ त्यसमा उहाँले खेती लगाउनुभएको छ । त्यसले गर्दा पुलको बाटो अवरोध भएको छ । उहाँले भन्नुभयो, “सम्झौता अनुसार मुआब्जा पाएनौँ भने पुलबाट गाडी चल्न दिने छैनौँ ।” पुल सञ्चालनमा नआएका कारण सर्वसाधारण मर्कामा परेका छन् । छायानाथ रारा नगरपालिका–१ का स्थानीय जयबहादुर मल्लले ‘माघअगावै ढलान भएको पुल अहिलेसम्म चारपाङ्ग्रे र दुईपाङ्गे सवारीसाधन आउजाउका लागि खुला नहुँदा खोलाबाट आउजाउ गर्नु परेको बताउनुभयो । उहाँले पुल सञ्चालनमा नआउँदा मुगुमकार्मारोङदेखि जिल्ला सदरमुकाम गमगढीसम्म महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने गुनासो गर्नुभयो । 

छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामका अनुसार नगरपालिकाले निर्माण कम्पनी र जग्गाधनीबिच समन्वय गराउँदै सडक विभागलाई मुआब्जाका लागि आवश्यक कागजात पठाइसकेको तर निजी जग्गाको मुआब्जा दिने कार्यविधि नरहेकाले समस्या आएको हो । अब विपत् व्यवस्थापन कोषबाट रकमको व्यवस्था गरेर राहतस्वरूप नगद उपलब्ध गराई पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।