• १७ साउन २०८२, शनिबार

रोकियो तीन मन्त्रीको शपथ

blog

मकवानपुर समाचारदाता

मकवानपुर, साउन १६ गते  । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण रोकिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएपछि बिहीबार दिउँसोका लागि तय गरिएको शपथग्रहण कार्यव्रmम रोकिएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्त गरेसँगै मन्त्रीपरिषद् पुनर्गठन तथा कार्यविभाजन गर्नुभएको थियो । नवनियुक्त मन्त्री गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठको पद तथा गोपनीयताको शपथग्रहण समारोह बिहीबार दिउँसो १ः०० बजेका लागि प्रदेश प्रमुखको कार्यालयले नै तय गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको जनाएको छ । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख अस्वस्थ भएकाले शपथग्रहण कार्यक्रम स्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथग्रहण समारोह मिति २०८२ साउन १५ गते बिहीबार दिनको १ः०० बजेका लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकाले उपचारार्थ आज बिहानै काठमाडौँ प्रस्थान गर्नुभएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथग्रहण कार्यव्रmम हाललाई स्थगन गरिएको बेहोरा जानकारीका लागि अनुरोध छ ।”

नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलको नेतामा निर्वाचित इन्द्रबहादुर बानियाँको पत्र प्रदेश प्रमुख देवकोटाले गएराति बुझ्नुभएको थियो । यस्तै प्रदेश प्रमुख देवकोटा बुधबार गएराति नै एमाले नेता विष्णु ओझाको घरमा पनि पुग्नुभएको थियो । ओझाले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रदेश प्रमुख देवकोटा दम्पतीलाई घरमा स्वागत गरेको र समसामयिक विषयमा संवाद गरेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री लामा कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा पराजित भएसँगै कांग्रेसको एउटा पक्ष र एमालेसमेत शपथग्रहण रोक्ने पक्षमा थिए ।