• १७ साउन २०८२, शनिबार

‘अनुपस्थित देवताहरू : नेपालको हराएको सम्पदा’ प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

ललितपुर, साउन १६ गते । नेपाल हेरिटेज रिकभरी क्याम्पेनको आयोजनामा ‘अनुपस्थित देवताहरू नेपालको हराएको सम्पदा’ प्रदर्शनी बिहीबार पाटन सङ्ग्रहालयमा सुरु भएको छ । प्रदर्शनीले विस्थापित धार्मिक मूर्तिहरूको स्मृति, पीडा र पुनस्र्थापनाको संवेदनशील कथा प्रस्तुत गरेको छ । परम्परागत मूर्तिको चोरी, विदेश पलायन र पुनस्र्थापनाका प्रयासलाई ऐतिहासिक प्रमाण, तस्बिर, र डिजिटल प्रविधिलाई प्रदर्शनीमा राखिएको छ । कलाकार क्रिस्टिना चित्रकारको अगुवाइमा भएको सो प्रदर्शनी साउन १५ देखि १९ गतेसम्म चल्ने छ । 

सम्पदा क्युरेटर चित्रकारले प्रदर्शनी गुमेको विषयमा मात्र होइन, हाम्रो जीवित स्मृति, हाम्रो संस्कृतिप्रतिको अधिकार र जिम्मेवारीबारे पनि रहेको बताउनुभयो । उहाँका अनुसार यी मूर्ति प्रदर्शनको सामग्री नभई हाम्रो घरआँगन, मठमन्दिर र जीवनको अभिन्न अङ्ग हुन् । उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका केही चित्र विदेशमा छन् र फिर्ता ल्याउने कोसिस भइरहेको छ ।” 

यसै गरी प्रदर्शनीमा रहेका तलेजुका चित्र पनि चोरी भइसकेका छन् । उहाँले भन्नुभयो, “हाम्रो चोरी भएको सम्पदा आफ्नै देशमा फर्काउने प्रयास भइरहेको छ, त्यसैलाई चित्रमार्फत कसरी प्रस्तुत गरौँ भनेर प्रदर्शनी गरेका हौँ ।” 

सो प्रदर्शनीमा दीर्घमान चित्रकार, गणेशमान चित्रकार र अन्य कलाकारका २५ देखि ३० तस्बिर रखिएका छन् । 

प्रदर्शनीको सम्पूर्ण दृश्य–अनुभव निर्देशक निकेश श्रेष्ठ र डिजाइनर स्वरूप न्हासिजु श्रेष्ठको संयोजनमा तयार पारिएको हो । प्रदर्शनीमा थ्रिडी प्रोजेक्सन म्यापिङ, अन्तर्क्रियात्मक डिजिटल नक्सा र गहिरो भावनात्मक प्रतिविम्ब स्थलमार्फत हराएका देवता र बिछोडिएको संस्कृतिसँग सम्बन्ध अनुभूत गर्न सकिन्छ । 

कार्यक्रम संयोजक तथा नेपाल हेरिटेज रिकभरी क्याम्पेनकी संस्थापक अलिशा सिजापतीले प्रदर्शनी एउटा सामूहिक स्मृति र प्रतिरोधको थलो हो, भन्नुभयो, “जब हाम्रो सम्पदा हराइन्छ, हाम्रो स्मृति रोकिन्छ र न्याय पर्खाइमा बस्छ । त्यतिबेला हामीले मौन बस्ने कि प्रतिवाद गर्ने भन्ने प्रश्न प्रदर्शनीले उठाउँछ ।” प्रदर्शनीले सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापनाप्रति नागरिक सरोकार र जनसहभागितालाई सशक्त बनाउने उद्देश्य राखेको छ ।