• १७ साउन २०८२, शनिबार

आशावान् युवा समृद्धिका आधार : प्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई विकसित भएको देख्न चाहने र सुन्दर भविष्यको कल्पना र योजनामा लाग्ने युवाको योगदान मुलुकको प्रगतिका लागि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । 

भविष्यलाई परित्याग गरिएमा केही पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुलुक सन् २०२६ मा विकासशील मुलुकका रूपमा स्तरोन्नति हुन लागेको भन्दै प्रधानमन्त्री ओलीले आधुनिकीकरण र उत्पादन वृद्धिका उपायमा लाग्न युवा उद्यमीलाई आग्रह गर्नुभयो । 

“हामी सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुँदै छौँ । त्यसपछि विकसितमा पुग्ने छौँ”, उहाँले भन्नुभयो, “हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो ।” 

नवप्रवर्तनमा लागेका युवा उद्यमीले प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा आधुनिकीकरण र उत्पादन वृद्धि गर्न सक्ने विचार उहाँले व्यक्त गर्नुभयो । मुलुकमा नकारात्मकता फैलाउन केही व्यक्ति उद्यत रहेको भन्दै उहाँले त्यस्ता नकारात्मक पक्षको पछि नलागी सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन गर्दै जान प्रधानमन्त्री ओलीले युवालाई प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सबै लागेमा नेपाल बन्छ ।” 

कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गर्नुभएको थियो ।