• १७ साउन २०८२, शनिबार

राष्ट्रिय कोदो दिवस आज

सहरी क्षेत्रमा कोदोको खपत बढ्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १७ गते । सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ शुक्रबार कोदो दिवस मनाउन लागिएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विभिन्न कृषक सङ्गठनले कोदो दिवस मनाउन लागेका हुन् । कोदो बालीको प्रवर्धन गर्नुका साथै खेती विस्तार गर्न कोदो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ ।

कोदोजन्य बालीमा उन्नत प्रविधिको प्रयोग, सिँचाइ, मलखादको व्यवस्था गर्न सके उत्पादन तथा उत्पादकत्व बढाउन सकिने सम्भावना रहेको छ । कोदोका परिकार स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पनि पछिल्लो समय सहरी क्षेत्रमा कोदोको खपत बढ्दै गएको छ । 

बजारमा माग बढ्न थालेपछि स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य वस्तुको आयात भएको छ । सोही वर्ष ९४ लाख सात हजार बराबरको ७० मेट्रिक टन कोदोजन्य वस्तु निर्यात भएको थियो । 

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय उत्पादन माग धान्न नसक्दा ठुलो परिणाममा कोदो आयात भइरहेकाले कोदोजन्य बालीको आयात रोक्नका लागि उत्पादन तथा उत्पादकत्व बनाउन आवश्यक रहेको बताउनुभयो । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । कोदोको रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका साथै केक, ब्रेड, चाउमिन, कुकिज, बिस्कुट, पिज्जा, दुनट जस्ता आधुनिक परिकारमा विविधीकरण गरेर कोदोजन्य बालीको उपभोग बढाउन सकिने उहाँको भनाइ छ । 

कोदोजन्य बालीमा प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्व पाइन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कोदोजन्य कोदोका छ वटा, चिनोको एक, कागुनोको एक गरी आठ वटा जात उन्मोचन गरेको छ । राष्ट्रिय जिन बैङ्कमा हालसम्म कोदोजन्य बालीका एक हजार १४० नमुना सुरक्षित राखिएको छ ।