• १७ साउन २०८२, शनिबार

बिमालेख सरल बनाउन आग्रह

blog

गोरखापत्र समाचारदाता

ललितपुर, साउन १६ गते । बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने तथा बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्न आग्रह गरिएको छ । बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने तथा बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने सरोकारवालाको आग्रह छ ।

बिमा कम्पनीले बिमा सर्भेयरले प्रतिवेदन बुझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बिमा गराउँदा बिमालेखका सबै प्रावधानबारे स्पष्ट जानकारी गराउनुपर्ने उनीहरूको भनाइ थियो । इन्जिनियरिङ बिमासम्बन्धी समस्या तथा चुनौतीका सम्बन्धमा नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफलका सहभागीले यस्तो बताएका हुन् । साथै बिमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीबारे अनलाइनका माध्यमबाट बिमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने तथा डिएलपी र एक्सेससम्बन्धी विषयसमेत उनीहरूले उठाएका थिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बिमा गरेपछि सुरक्षित भइन्छ भन्नेबारे सबैलाई बुझाउनुपर्ने, दबाब र प्रभावले दाबी भुक्तानी पाउने अवस्था आउन नहुने, बिमालेख जारी गर्दा गलत कुरालाई प्रोत्साहन गर्न नहुने र बिमालाई बाध्यकारी नभई विश्वसनीय बनाउनुपर्ने बताउनुभयो ।

बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इन्जिनियरिङ बिमा अन्तर्गत देखिएका समस्या समाधानका लागि सम्बद्ध सरकारी निकाय, बिमा कम्पनी र निर्माण व्यवसायीसँग छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो ।

इन्जिनियरिङ बिमासम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय, नियामक र संस्थासँग छलफल गरी अगाडि बढ्ने उल्लेख गर्दै उहाँले करिब ९० प्रतिशत बिमालेख नेपाली भाषामा भए पनि बिमा गर्दा बिमालेख राम्रोसँग नपढेका कारण समस्या आउने गरेको बताउनुभयो ।

प्राधिकरणका निर्देशक निर्मल अधिकारीले म्याद थप भएका ठेक्काको बिमालेख नवीकरण गर्ने सम्बन्धमा त्यस्ता ठेक्काको सङ्ख्या कति छ भन्ने यकिन भएपछि स्पष्ट गरिने जानकारी दिनुभयो । 

नेपाल बिमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवारले बिमा घोषणा गर्दा सही रूपमा गर्नुपर्ने, बिमा बेच्ने र लिनेले बिमाका प्रावधानलाई एउटै अर्थमा बुझ्नुपर्ने र स्वदेशी पुनर्बिमा कम्पनीले रक्षावरण गरे म्याद थप भएका ठेक्काको बिमालेख नवीकरण गर्न समस्या नहुने बताउनुभयो ।

यसै गरी निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले सबैले बिमालाई बाध्यताका रूपमा नभई आवश्यकताका रूपमा बुझ्नुपर्ने, बिमालेखका प्रावधान पढेर मात्र बिमा गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यकताका आधारमा बिमा लेखका प्रावधान थपिँदै गएको र बिमा दरमा खासै समस्या नहेकोलगायतका विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल बिमक सङ्घका पदाधिकारी तथा निर्जीवन बिमा कम्पनी र पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी र निर्माण व्यवसायीको सहभागिता थियो ।