• १६ साउन २०८२, शुक्रबार

बेनीको गाजने गाउँमा स्याउ फल्यो

blog

गाजने गाउँमा किसानले लगाएको स्याउको बोटमा फलेका स्याउ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १५ गते। बेनी नगरपालिका ५ को पुलाचौरस्थित गाजने गाउँमा स्याउ फलेको छ। उच्च हिमाली भूभागमा मात्र फल्ने स्याउ यहाँ पनि फल्न थालेपछि किसान फुरुङ्ङ भएका छन्।  चारवर्ष अघि यहाँका किसानले मुस्ताङबाट स्याउका बिरुवा ल्याएर परीक्षणका रुपमा लगाएका थिए। 

 यो गाउँ समुद्री सतहदेखि दुई हजार मिटरभन्दा माथि रहेकाले स्याउ खेती हुनसक्ने अनुमान गरेर चारवर्ष अघि मुस्ताङबाट स्याउका बिरुवा ल्याएर लगाएका थियौं स्थानीय किसान यामबहादुर बानियाँले भन्नुभयो, ‘‘अहिले स्याउका बिरुवाले उत्पादन दिन थालेको छ। स्याउ फल्न थालेपछि किसान उत्साहित भएका छन्।’’ स्याउको परीक्षण उत्पादन सफल भएकाले गाउँका सबै किसानले खाली जमिनमा स्याउका बोट रोप्ने योजना बनाएको उहाँले बताउनुभयो। 

चारवर्ष अघि गाजने गाउँका अधिकांश घरपरिवारले स्याउका विरुवा रोपेको उहाँले बताउनुभयो। उक्त स्याउका विरुवा लगाएको छोटो समयमै बोटमा स्याउको दाना लागेपछि किसान खुसी भएको उहाँको भनाइ छ। मुस्ताङबाट स्याउका विरुवा ल्याएर परीक्षणको रुपमा लगाइएको स्याउले उत्पादन दिएर परीक्षण सफल भएपछि किसानले यस वर्षदेखि थप बिरुवा लगाउने योजना बनाएको स्थानीयवासी नीलकण्ठ शर्माले बताउनुभयो। 

उहाँले गाजनेमा स्याउको परीक्षण उत्पादन सफल भएपछि अब व्यावसायिक रुपमा लगाउने योजना आफूहरुले बनाएको उहाँले बताउनुभयो। जिल्लाको उच्च भेग, चिसो हावापानी भएकाले गाजने गाउँमा स्याउ खेती गर्न सकिने उहाँको भनाइ छ। किसानले मुस्ताङबाट गोल्डेन र रेड प्रजातिको स्याउ ल्याएर लगाएका थिए।  


यसवर्ष गाजनेका यामबहादुर बानियाँ, यामबहादुर कार्की, तिलक खत्री, निलकण्ठ शर्मा, खड्कबहादुर खत्री र सीता कार्कीले लगाएको बारीमा स्याउले उत्पादन दिएको छ। 

२०७८ सालमा यहाँका स्थानीयले परीक्षणको रुपमा २०/२५ गोटाका दरले लगाएको स्याउका बोटले उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि स्याउ लगाउने योजना बनाएका छन्। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले गाजनेमा फलेको स्याउको दाना देख्दा व्यावसायिक रुपमा खेती गर्न सकिने बताउनुभयो।