स्मिता अर्जेल
मकवानपुरगढी, साउन १४ गते । बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई आठ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो ।
बाँनियाले २२ मत ल्याउँदा लामाले १४ मत ल्याउनुभयो । कुल ३७ मत खसेकोमा १ मत बदर भएको निर्वाचन अधिकृत हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । संसदीय दलको नेताको निर्वाचनका लागि बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान भएको थियो ।
संसदीय दलका नेता रहनु भएका लामाविरुद्ध मङ्गलबार मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान भएको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट रहेको छ ।