• १२ साउन २०८२, सोमबार

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन १२ गते । शान्ति सुरक्षा जुनसुकै प्रकारको अपराध, घटना वा दुर्घटनाबारे प्रहरीले छिटो सूचना पाउने ‘हटलाइन नम्बर १००’ मा हिजोआज प्रहरीविरुद्धकै उजुरी बढ्न थालेका छन् । प्रहरीविरुद्ध आउने यस्ता उजुरी ट्राफिक प्रहरीले जाँचका नाममा चोक चोकमा दिने हैरानी, अनुचित लेनदेन, सीमानाकाबाट हुने चोरी तस्करी तथा सर्वसाधारणप्रति हुने अभद्र व्यवहारसम्बन्धी बढी हुन्छन् ।

पछिल्लो एक वर्षमा मात्र प्रहरी कर्मचारीविरुद्ध तीन हजार ७५३ उजुरी दर्ता भए । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित पत्रकार सम्‍मेलनमा केन्द्रीय प्रवक्ता विनोद घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा परेका यस्ता उजुरीमध्ये ८१ प्रतिशत सम्बोधन भएको बताउनुभयो । बाँकी ७०० उजुरी भने छानबिनकै क्रममा रहेको बताउनुभयो ।

घिमिरेले भन्नुभयो, “यस्ता उजुरी, हटलाइन १००, इ–कम्प्लेन, अख्तियार, गृह मन्त्रालय, टोल फ्री नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतर्कता केन्द्र, हुलाक र व्यक्तिबाट आएका छन् । हामी उजुरीमाथि छानबिन गरी कारबाही पनि गरिरहेका छौँ ।”

यस्ता उजुरीमध्ये एक हजार ९०६ वटा हेलो सरकारमार्फत प्रहरी प्रधान कार्यालयले प्राप्त गरेको जनाइएको छ । यस्ता विभिन्न आरोपमा लागेकामध्ये दुई हजार ७३ जना प्रहरीलाई कारबाही गरिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जाका प्रहरी दुई हजार ७३ प्रहरी र प्रहरी जवान मात्र ९२४ जना रहेको पाइएको छ । त्यसै गरी कारबाहीमा पर्नेमा प्रहरी निरीक्षक ३० जना, प्रहरी नायब निरीक्षक तीन जना र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एक जना रहेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सो अवसरमा प्रहरी प्रवक्ता घिमिरेले आव २०८१/८२ मा उत्कृष्ट काम गर्ने १२ हजार २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको जानकारी दिनुभयो । जसमा सबैभन्दा बढी प्रहरी जवान तीन हजार ३० देखि तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक रहेका छन् । 

प्रहरीविरुद्ध जनस्तरबाट उजुरी आउनेक्रम वृद्धि भइरहेका बेला त्यसकै अनुपातमा प्रहरीका इकाइ माग गर्नेक्रम पनि उल्लेख्य रूपमा बढेको छ । प्रहरी प्रधान कार्यालयमा पछिल्लो समय प्रहरी इकाइमा जनशक्ति थप गर्नुपर्ने, कुल दरबन्दी वृद्धि गर्नुपर्ने, कार्यरत सङ्ख्या र दर्जा वृद्धिका मागसमेत बढेका छन् । प्रहरी इकाइको वृद्धि, अस्थायी तथा स्थायी प्रहरी पोस्टको भौतिक स्तरवृद्धिका लागि जनस्तरबाटै माग बढेको पाइएको छ । नेपाल प्रहरीका हाल देशभर दुई हजार ६६० इकाइ रहेकामा एक हजार ८६९ वटाको मात्र आफ्नै स्थायी कार्यालय भवन छ । 

३६७ प्रहरी इकाइ भाडाका भवनमा रहेका छन् भने ४२१ वटा प्रहरी इकाइ अन्य निकायको भवनमा आश्रित छन् । यसबाहेक देशभरबाट विभिन्न माध्यमबाट ९४५ वटा प्रहरीका इकाइ थप गर्न माग गरी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पत्रचार गरिएको छ ।

प्रहरी प्रवक्ता घिमिरेले हाल कायम रहेको दरबन्दी र कायम रहेका इकाइबाहेक नयाँ प्रहरी पोस्ट स्थापनाका लागि २७ हजार ९०३ थप दरबन्दी माग भएको बताउनुभयो ।