• ११ साउन २०८२, आइतबार

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

blog

एसियाली पारा तेक्वान्दोमा सहभागी हुने नेपाली टोलीलगायत ।

काठमाडौँ, साउन १० गते । जिल्ला तेक्वान्दो सङ्घ काठमाडौँले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४०) मा सहभागी हुने पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।

मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने छ ।

पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्नु हुने छ । 

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्नु हुने छ । अध्ययनका लागि चीनमा रहनुभएकी पलेशा त्यत्तैबाट मलेसिया जानुहुने छ । 

पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामाले यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा निर्वाह गर्नुहुने छ । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहनुभएको छ । 

प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महत्त्वपूर्ण भएको बताउनुभयो। नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपालले एक रजत र पाँच गरी ६ पदक जितेको प्रशिक्षक लामाले जानकारी दिनुभयो । 

रञ्जना धामीले रजत र कांस्य जित्नुभएको थियो । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य जित्नुभएको थियो । 

टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीलगायतले बिदाइ गर्नुभयो । 

अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो। सोही अवसरमा टोलीलाई खेल पोशाक पनि प्रदान गरिएको थियो ।