• १० साउन २०८२, शनिबार

मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु

blog

झेङ्झाउ (चीन),  साउन ९ गते ।  साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ । 

यही साउन ७ देखि ११ गतेसम्म चल्ने यो सम्मेलनमा विभिन्न मुलुकका ४०० भन्दा बढी बौद्धिक व्यक्तित्व तथा सञ्चार प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

आयोजक पक्षका अनुसार सम्मेलनमा रणनीतिक समन्वय तथा क्षेत्रीय सुरक्षालाई मजबुत बनाउने, विश्वव्यापी चुनौतीको समाधान खोज्ने, साझा समृद्धिका पक्षमा सहयोग र सहकार्य गर्ने, आपसी सम्बन्ध विस्तार गर्ने तथा आआफ्ना क्षेत्रमा हासिल गरेका अनुभव आदानप्रदान गर्ने विषयमा छलफल तथा विचारविमर्श हुनेछ ।  

यसैगरी, सामाजिक तथा सांस्कृतिक सभ्यताबीचको ज्ञान र सिकाइबाट लाभान्वित हुने तथा बहुपक्षीय सहकार्य, समानता, न्याय र साझा भविष्य निर्माणको सन्देश प्रवाह गर्ने सन्दर्भमा सम्मेलन केन्द्रित हुनेछ । 

सो सम्मेलनका क्रममा मुख्य बैठकसहित समानान्तर सत्रहरू, सांस्कृतिक कार्यक्रम र अनुभवको आदानप्रदान, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीसमेत सञ्चालन हुनेछन् ।

यसैगरी, साझा सहमतिसहित महत्वपूर्ण दस्तावेजहरू सार्वजनिक गरिने भएको छ ।  जसमा ‘एससीओ मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउ सहमति’ रहेको छ । चिनियाँ दर्शन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा विभिन्न अनुसन्धानात्मक प्रतिवेदनहरुसमेत सम्मेलनका क्रममा सार्वजनिक हुने बताइएको छ । 

‘अप होल्डिङ द साङ्घाई स्प्रिट टु बिल्ड अ मोर ब्युटीफूल होम’ भन्ने नारासहित सुरु भएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षले प्रतिनिधित्व गर्नुभएको छ । त्यस्तै मित्रराष्ट्र चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा जारी सो सम्मेलनमा नेपालका विभिन्न आमसञ्चारमाध्यमका प्रतिनिधि तथा सरकारी अधिकारीहरुसमेत सहभागी हुनुहुन्छ । रासस