शालिग्राम नेपाल
चितवन, साउन ९ गते । राष्ट्रिय परिचयपत्रको बेवसाइडमा समस्या आएपछि चितवनमा सामाजिक सुरक्षा भत्ताका लागि बायोम्याट्रिक गर्न समस्या भएको छ ।
एक हप्तादेखि बेवसाइडमा समस्या आएपछि बायोम्याट्रिक गर्न आएका वृद्धवृद्धाले हैरानी पाएका छन् । सामाजिक सुरक्षा भत्ता लिनका लागि बायोम्याट्रिकबाट प्रमाणित गरे मात्रै भत्ता लिने व्यवस्था छ । कार्यालय समयमा तथा बिहान पनि सर्वर नचल्दा सेवाग्राहीलाई समस्या भएको भरतपुर महानगरपालिका– ११ का अध्यक्ष कमल मल्लले जानकारी दिनुभयो ।
कार्यालय समयमा सर्वर नखुलेपछि उहाँले बिहान ७ बजेबाटै सेवा दिने व्यवस्था मिलाउनुभएको छ । बिहान ७ बजेबाटै कार्यालय सञ्चालनमा आए पनि बेवसाइडमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका– ११ की ७७ वर्षीया सुमित्रा क्षेत्री दुई दिनदेखि वडा कार्यालय धाइरहनुभएको छ । बिहान एक पटक र दिउँसो एक पटक उहाँ कार्यालय जानुहुन्छ, तर काम नभएपछि फर्कनुहुन्छ ।
सामाजिक सुरक्षा भत्ता लिनका लागि वडा कार्यालयमा उपस्थित भएर बायोम्याट्रिक गर्नुपर्ने व्यवस्था छ । आफैँ उपस्थित भएर औँलाको छाप लगाएपछि मात्र प्रमाणित हुने गर्दछ । उहाँ दुई दिनदेखि कार्यालय धाउनुभएको छ । तर बेवसाइडमा समस्या आएका कारण वडा कार्यालयका कर्मचारीले बायोम्याट्रिक गराउन सक्नुभएको छैन ।
दिउँसो आउने वृद्धवृद्धाले बायोम्याट्रिक गर्दा नखुलेपछि वडा अध्यक्ष कमल मल्लको अनुरोधमा कार्यालयका कर्मचारीले बिहान ७ बजेदेखि नै काम गर्न थाल्नुभएको छ । बिहान केही समय खुले पनि पुनः उस्तै समस्या आउने गरेको छ । कार्यालयमा बायोम्याट्रिक गर्न आउनुभएकी क्षेत्रीले भन्नुभयो, “बिहान अफिस खुल्छ भनेपछि अटो भाडा एक सय ५० तिरेर आएँ तर काम भएन । १० बजेसम्म बसेँ हुँदैन भने । त्यसपछि फेरि अटो रिजर्भ गरेर घर गएँ । खाना खाएर दिउँसो आएँ फेरि भएन । एउटै कामका लागि दुई दिनसम्म आएँ । कति हैरानी पाएँ । यस्तो दुःख दिन नहुने मलाई ।”
उहाँ मात्र होइन भरतपुर ११ कै ७८ वर्षीया इन्द्रमाया थापा मगर एउटै कामका लागि चार पटक वडा कार्यालय आइसक्नुभएको छ । “आउँदा अटो भाडा दुई सय जाँदा दुई सय । दुई पटक आउन जाँदा आठ सय रुपियाँ लागिसक्यो तर काम हुँदैन” उहाँले भन्नुभयो, “यस्तो चर्को घाममा हामी अशक्त वृद्धलाई कति दुःख दिएको होला ।”
वडा ११ कै वृद्धवृद्धाले बायोम्याट्रिक गराउन समस्या भोग्दै आएका छन् । राष्ट्रिय परिचयपत्रको बेवसाइड खुल्न गाह्रो हुने, खुलेपछि बायोम्याट्रिक प्रमाणीकरण नगर्ने समस्याले गर्दा वृद्धवृद्धालाई समस्या भएको छ । दिउँसो सर्वरमा धेरै समस्या आएपछि वडा अध्यक्ष कमल मल्लले बिहानदेखि नै सेवा दिन कर्मचारीलाई अनुरोध गर्नुभएको थियो । सोही अनुसार बिहान ७ बजेबाट नै वडा कार्यालयमा कर्मचारीले सेवा दिँदै आउनुभएको छ । बिहान केही काम भए पनि वेवसाइडमा भने समस्या आइराखेको वडा सचिव ओमप्रकाश न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो “हिजो बिहान दुई घण्टा चल्यो केही व्यक्तिको काम भयो त्यसपछि बन्द भयो । आज पनि त्यस्तै छ । बिहान केही समय सामान्य चल्छ फेरि चल्दैन । वृद्ध बुबाआमालाई सजिलो हुनका लागि बिहान कार्यालय खुलेको छ काम हुँदैन । फेरी दोहोर्याएर आउनुपर्ने हुन्छ ।” कुनै बेला बेवसाइड खुलेर काम हुन्छ कुनै बेला हुँदैन यस्तो गर्दा काम नगरेको भन्ने बुझाइ सेवाग्राहीमा पर्ने गरेको न्यौपानेले बताउनुभयो ।
बेवसाइड नखुलेर बायोम्याट्रिक गराउन जिल्लाभरि समस्या छ । अन्य पालिकामा पनि यस्तै समस्या छ । चितवन जिल्लामा सात वटा पालिका रहेको छ । तीमध्ये सबैभन्दा धेरै सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा भरतपुर महानगरको वडा नं. ११ मा हुनुहुन्छ । यस वडामा मात्रै दुईहजार एक सय जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको वडा सचिव न्यौपानेले जानकारी दिनुभयो । यो सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । सामाजिक सुरक्षा भत्ता लिनको लागि बायोम्याट्रिक अनिवार्य गर्नुपर्ने हुन्छ ।
यस वडामा मात्रै १८ हजार मतदाता छ भने ३६ हजार जनसङ्ख्या रहेको वडा अध्यक्ष मल्लले जानकारी दिनुभयो । एउटै वडामा यती धेरै जनसङ्ख्या भए पनि जीर्ण भवनबाट सेवा दिन समस्या हुने गरेको उहाँले बताउनुभयो । साँघुरो स्थानमा जीर्ण भवनबाट धेरै सेवाग्राहीलाई सेवा दिन कठिन हुने गरेको उहाँले बताउनुभयो । स्थायी र अस्थायी गरी वडामा ६० हजार जनसङ्ख्या बसोबास गर्दै आएका छन् । यी सबैलाई १० धुरमा रहेको साँघुरो वडा कार्यालयबाट दिनुपरेको उहाँले भन्नुभयो ।