• १० साउन २०८२, शनिबार

आलुमा आत्मनिर्भर बनाउन व्यासका किसानलाई प्रोत्साहन

blog

व्यास नगरपालिकामा उत्पादन भएको आलु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, साउन ९ गते ।
आलुमा आत्मनिर्भर बन्न तनहुँको व्यास नगरपालिकाले किसानलाई प्रोत्साहन गरेको छ । नगरपालिकाले किसानलाई उन्नत जातको बीउ, आवश्यक औजार तथा आलु भण्डारणमा सहयोग गरेर प्रोत्साहन  गरेको हो ।

प्रोत्सनको क्रममा नगरपालिकाले आलुको पकेट क्षेत्र घोषणा गरेर सहयोगलाई निरन्तरता दिने नीति लिएको छ । कृषिलाई पहिलो प्राथमिकता दिइएको र जसअन्तर्गत आलुमा आत्मनिर्भर बनाउन कृषकलाई सहयोग गर्ने नीति लिइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

“आलुमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार चिस्यान केन्द्र सञ्चालन गरी किसानलाई निःशुल्क भण्डारणको व्यवस्था गरेका छौं, बिउ र प्रविधिमा सहयोग गरेका छौं ।’ चिस्यानकेन्द्र नहुँदा आलुको बीउ जोगाइरहन समस्या भएकाले सञ्चालनमा ल्याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । आलु पकेट क्षेत्र कार्यक्रमअन्तर्गत नौ वटा समूह÷कृषि सहकारीहरु छनोट गरी प्रोत्साहन गरिएको नगरपालिकाले जनाएको छ । 

आलुका किसानको लागि आर्थिक वर्ष २०८१/०८२ मा दश लाख सहयोग गरिएको व्यास नगरपालिकाले सञ्चालन गरिएको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारको व्यवस्था मिलाइएको कृषि विकास उपशाखाको कृषि अधिकृत समीक्षा पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार ५० प्रतिशत अनुदानमा बिउ तथा बाली संरक्षण सामग्रीहरु प्रदान गरी ३१६ रोपनी क्षेत्रमा खायन एवम् बिउ आलु खेती गरिएको छ ।

उत्पादन भएपछि समूह तथा सहकारीहरुको आठ टन बिउ तथा खायन आलु चिस्यान केन्द्रमा राखिएको छ । यसैगरी आलु तथा तरकारी खेती पकेटक क्षेत्रका वडा नम्बर ७, ९, १० र १२ का कृषकलाई माटोको नमुना सङ्कलनका लागि कृषि चुनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

तालिमपछि माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशको समन्वयमा माटो परीक्षण शिविर गरी १०४ वटा माटोको नमुना परीक्षण गरिएको छ । यस कार्यका लागि नगरपालिकाले थप एक लाख बजेट व्यवस्था गरिएको थियो । “किसानले आफूले चाहेको बेला चिस्यानकेन्द्रबाट बीउ ल्याएर खेती गर्न सकुन भनेर बिउ राख्ने व्यवस्था मिलाइएको पोख्रेल बताउनुहुन्छ । आलुखेती गर्ने किसानलाई प्रोत्साहन गरेसँगै कृषकको सङ्ख्या बढ्दै गएर आत्मनिर्भर बन्ने अपेक्षा दिइएको पोख्रेलको भनाइ छ । पोख्रेलले भन्नुभयो, ‘‘प्रोत्साहन कार्यक्रमले चालु आर्थिक वर्षमा पनि आलुखेती गर्ने विकास बढ्ने विश्वास गरेका छौं ।’’

उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन सहकारी तथा किसान समूहलाई सामूहिक आलु खेतीमा प्रोत्साहन गरिएको नगरपालिकाले जनाएको छ ।