• १० साउन २०८२, शनिबार

कौसीमा ड्र्यागन फल

blog

मध्यविन्दु समाचारदाता

मध्यविन्दु, साउन ९ गते । नवलपरासी पूर्व (नवलपुरको)  कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्र्यागन फ्रुट (सिउँडी फल) खेती गरेर मनग्गे आम्दानी लिन सफल हुनुभएको छ । तीन वटा बिरुवाबाट सुरुवात गरेको ड्र्यागन फलको कौसी खेती अहिले १३५ वटा गमलामा विस्तार भएको छ । बारीमा पनि विस्तार गरेर ४२४ वटा पिल्लरमा बोट लगाउनुभएको छ ।

घरमै खानका लागि भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक रूपमा गर्न थाल्नुभएको हो । विगत तीन वर्षदेखि उहाँले व्यावसायिक रूपमै कौसीमा ड्र्यागन फलको खेती गर्दै आउनुभएको छ । कौसीमा खेती सुरु गर्दा २५ हजार रुपियाँ लगानी लागेको उहाँले बताउनुभयो । बिरुवा लगाएको नौ महिनामै उत्पादन दिन सुरु गरेको उहाँको भनाइ छ । उहाँले फल मात्र होइन, बिरुवासमेत बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ ।