जनार्जन खत्री
सर्लाही, साउन ८ गते । सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियाका इन्दल साहले पर्याप्त वर्षा नहुँदा १८ कठ्ठा खेतमा धान रोपाइँ गर्न पाउनुभएको छैन ।
रोपाइँका लागि खेतको आलीभित्ता खनेर (ताछेर) तयार पार्नुभएका साहलाई वर्षाको अभावमा रोपाइँ गर्न नपाएर धानको ब्याड छिप्पिएर जाँदा उत्पादन घट्ने चिन्ता छ । “साउन दोस्रो हप्ता
लागिसक्यो तर धान रोपाइँ गर्न पुग्ने गरी पानी पर्न सकेन,” साहले भन्नुभयो, “२५ दिनमा रोपिसक्नु पर्ने ब्याड छिप्पिएर डेढ महिनाको भइसकेको छ ।”
झमझम झरी परेर तीव्र रुपमा धान रोपाइँ हुनुपर्ने मधेशमा हावा चल्ने र टन्टलापुर घाम लागेर खडेरी लम्बिँदै जाँदा किसान निराश छन् । कविलासी नगरपालिका–७, सिर्सियाका रामआश्रीत महतोले पनि वर्षा नहुँदा रोपाइँ गर्न नपाएको बताउनुभयो ।
धानको ब्याडमा झारपात गोड्दै गर्दा भेटिनुभएका महतोले असार-साउन महिना सुक्खा हुँदा चिन्तित तुल्याएको गुनासो गर्नुभएको छ । “धान गोड्ने समयमा ब्याडमा झार उखेलेर बस्नुपरेको छ,” महतोले भन्नुभयो, “अब त ब्याड पनि रोप्नै नहुने गरी छिप्पीसक्यो ।”
मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि देखि नै मधेश प्रदेशमा वर्षाको आंकलन गरे पनि यहाँ हावा चल्ने र टन्टलापुर घाम लागेर खडेरी लम्बिँदा किसान निराश देखिन्छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका नरबहादुर विश्वकर्माले पर्याप्त आकाशे वर्षा नहुँदा कुलोमा थोरै मात्रामा आइरहेको पानी पटाउन (सिँचाई गर्न) थानाथाप पर्ने गरेको बताउनुभयो ।
कुलोको पानी लाग्ने क्षेत्रमा रहेको खेतमा धान रोपाइँ गरे पनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा पर्ने खेतमा भने रोपाइँ गर्न नपाएको विश्वकर्माको भनाइ छ । विश्वकर्माले भन्नुभयो, “असार-साउनमा धरी पानी पर्न नसक्दा हामी किसान निशब्द भएका छौँ ।”
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा ४४ हजार १७५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये असार मसान्तसम्मको विवरण अनुसार ४० प्रतिसतको हाराहारीमा रोपाइँ भएको कार्यालयकी सूचना अधिकारी एवं बागवानी विकास अधिकृत सीमा कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार अहिले सिँचाई सुविधा रहेको क्षेत्रमा मात्रै धान रोपाइँ भइरहेको छ । “नहर तथा कुलोको पानी लाग्ने क्षेत्रमा रोपाइँ भइरहेकै छ तर पूर्णरुपमा आकाशे वर्षाका भर रहेको क्षेत्रमा भने समस्या नै छ” कार्कीले भन्नुभयो, “थप वर्षा नहुँदासम्म धान रोपाइँमा प्रगति हुने अवस्था देखिँदैन ।”
जिल्लाको पश्चिमी र दक्षिणी भेगमा बागती र मनुष्मारा खोलाबाट सिँचाई पुगे पनि उत्तरी र पूर्वी भेगमा आकाशे वर्षाको भर रहेको छ । पप्पसेट (दमकल) र बोरिङ चल्ने स्थानमा वैकल्पिक माध्यम प्रयोग गरेर सिँचाई गर्दा लागत बढ्ने किसानको गुनासो छ ।