• १० साउन २०८२, शनिबार

नहरमा पानीको कमीले खेत सिँचाइका लागि आलोपालो व्यवस्था

blog

कमला सिँचाइ व्यवस्थापन प्रणालीअन्गर्तको कमला नहर। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन ८ गते। कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले सिँचाइका लागि आलोपालो व्यवस्था मिलाएको छ। नहरमा पानीको बहाव कम भएकाले शाखागत रूपमा पालो मिलाएर सिँचाइ व्यवस्था मिलाइएको हो। 

कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले नहरमा पानीको सतह कम भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो। उहाँले धान रोपाइँलाई दृष्टिगत गर्दै असार १० गते नहरमा पानी प्रवाह सुरु गरे पनि कमला नदीमा पानीको बहाव कम भएको जानकारी दिनुभयो। 

कमला सिँचाइ व्यवस्थापन प्रणालीले धनुषा र सिरहामा गरी २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आइरहेको छ।  धनुषाको पश्चिमी नहर प्रणालीमार्फत १२ हजार पाँच सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। यसमा गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिका छन्। त्यस्तै, सिराहामा १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। सिराहाका कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिराहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिका  छन्। 

त्यस्तै, यस प्रणालीमार्फत सञ्चालित तराई मधेश भूमिगत जल सिँचाइ कार्यक्रमअन्तर्गत सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लामा गरी १९० हेक्टर जमिनमा डिप ट्युवबेलबाट सिँचाइ सुविधा उपलब्ध गराइएको कार्यालय प्रमुख यादवले बताउनुभयो। 

त्यस्तै, बागमती सिँचाइ आयोजनाले सर्लाही र रौतहट जिल्लाका करिब ४५ हजार छ सय हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सेवा उपलब्ध गराउने क्षमताको छ। तर यहाँ यहाँ पनि स्रोतमा नै पानीको अभाव भएकाले आलोपालो विधिमार्फत खेतमा सिँचाइ पुर्‍याउने काम भइरहेको आयोजनाले जानकारी गराएको छ। 

यसैगरी, नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साले मधेश प्रदेश अन्तर्गत पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार चार सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै, चन्द्र नहर सिँचाइ प्रणाली सप्तरीले जिल्लामा १० हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। तर ती नदीहरुमा पनि पानीको स्रोत कम भएकाले शाखागत रुपमा आलोपालो विधिबाट सिँचाइ व्यवस्था गरिएको बताइएको छ। 

मधेश प्रदेश सकारको तथ्याङ्कअनुसार प्रदेशभरमा कुल पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये दुई लाख ७३ हजार ४१० हेक्टर जमिन सिञ्चित क्षेत्र छ। कुलोद्वारा ८७ हजार १७२ हेक्टर, नहरद्वारा एक लाख ५३ हजार २७ हेक्टर र ट्यवबेलद्वारा २१ हजार २०७ हेक्टर जमिन सिञ्चित क्षेत्र छ।