• १० साउन २०८२, शनिबार

गोरखापत्रसँग दुई चरणको मेरो सम्बन्ध

blog

‘गोरखापत्र’ सँग दुई चरणमा विभाजित मेरो आबद्धता छ । पहिलो चरणमा स्तम्भकारदेखि उपसम्पादकका रूपमा र दोस्रो चरणमा महाप्रबन्धक तथा प्रधान सम्पादकका रूपमा । पत्रकारितालाई पेसाका रूपमा अपनाएपछि लगभग आधा दशक मैले गोरखापत्र संस्थानमा बिताएँ । सुप्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको निधनपछि गोरखापत्रसँग मेरो सम्बन्ध गाँसिएको थियो । मैले शङ्कर दाइको स्मृतिमा एउटा फिचर तयार गरेको थिएँ । त्यसलाई गोरखापत्रमा छपाउने रहर जाग्यो मेरो मनमा । त्यतिबेला गोरखापत्र नेपालको एक मात्र र सर्वाधिक पढिने समाचारपत्र थियो । त्यसबेला गोरखापत्र दैनिक एक मात्र यस्तो माध्यम थियो, जो जनताका हात हातमा पुग्दथ्यो । विशेष गरेर गोरखापत्रको शनिबारीय परिशिष्टाङ्क आकर्षक र पठनीय हुन्थ्यो । नेपाली हास्यव्यङ्ग्य साहित्यका शिरोमणि भैरव अर्याल शनिबारीय परिशिष्टाङ्कका संयोजक हुनुहुन्थ्यो । भैरव अर्यालको सम्पादनमा जुन प्रकारको तीक्ष्णता थियो, त्यो नेपालका कुनै पनि सम्पादकमा भेटिँदैन । उहाँको सम्पादनमा परेका रचनाको ‘कायाकल्प’ हुन्थ्यो । भैरव दाइले ‘मधुपर्क’ मा प्रकाशित मेरा कतिपय निबन्ध र कथाको सम्पादन गर्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, “भाइका रचनाको ‘कायाकल्प’ कहिल्यै गर्न परेन मैले ।” 

त्यतिबेला समाचारपत्र त थुप्रै प्रकाशित हुन्थे । सबै समाचारपत्र ‘टेब्लाइड’ साइजका दुई पानामा छापिन्थे । राष्ट्रिय समाचार समितिका समाचारले पहिलो पृष्ठ भरिएका हुन्थे । दोस्रो पृष्ठको दुई कोलममा सम्पादकीय विचार, कहिलेकाहीँ लेख र सम्पादकलाई पत्र । तेस्रो पृष्ठमा विज्ञापन र चौथो पृष्ठमा सिनेमाका विज्ञापन, समाचारका बाँकी । तिनको बजार थिएन । सरकारले अलिकति ‘अनुदानवृत्ति’ दिन्थ्यो । राजारानी र युवराजको जन्मोत्सवमा विभिन्न सरकारी संस्थानले दिने विज्ञापन आम्दानीको स्रोत भए पनि न्यून थियो ।  

ती समाचारपत्रका सम्पादकीय विचारले राज्यव्यवस्थालाई तिरिमिरी पार्दथे । निर्दलीय पञ्चायतकालमा सरकारका नेताहरू प्रेस स्वतन्त्रताको गरिमाको बखान गर्दथे तर प्रेसको गर्धनमा सधैँ राज्यको तरबार लट्किएको हुन्थ्यो । निजी क्षेत्रबाट प्रकाशित हुने समाचारपत्रमाथि प्रतिबन्ध लागिरहेको हुन्थ्यो । चन्द्रलाल झाको ‘नेपाल टाइम्स’, मदनमणि दीक्षितको ‘समीक्षा’, गोविन्द वियोगीको ‘मातृभूमि’ र इन्द्रकान्त मिश्रको ‘दैनिक नेपाल’ प्रतिबन्धको नियमित सिकार हुन्थे । मेरो र विनोद रिमालको सम्पादन/प्रकाशनमा चलेको ‘स्वतन्त्रता’ पत्रिकाको तेस्रो अङ्कका केही रचनामा सेन्सरले कालो पोतिदिएको थियो । यस्ता घटना कैयौँ प्रकाशनको नियति बनेको थियो ।

त्यतिबेला गोरखापत्रका प्रधान सम्पादक हुनुहुन्थ्यो गोपालप्रसाद भट्टराई । मुद्रणमा भएको एउटा सानो त्रुटिका कारण व्यवस्थाका पक्षधरले उहाँको कटु आलोचना गर्न थालेपछि उहाँले आफ्नो ‘नैतिक जिम्मेवारी’ स्वीकार गर्दै राजीनामा दिनुभयो । उहाँका ठाउँमा ‘दी राइजिङ नेपाल’ मा कार्यरत पत्रकार भारतदत्त कोइराला गोरखापत्रको प्रधान सम्पादक हुनुभएको थियो । 

म शङ्कर लामिछानेमाथि लेखिएको आफ्नो फिचर बोकेर कोइरालाको कार्यकक्षमा पुगेँ । मेरो फिचर पढेर उहाँ निकै प्रभावित हुनुभयो । मेरो त्यो फिचर शनिबारीय परिशिष्टाङ्कमा छापियो र निकै लोकप्रिय भयो । त्यसपछि मभित्र गोरखापत्रमा नियमित लेख्ने जाँगर पलायो किनभने गोरखापत्रमा लेख्नु मेरा लागि आम्दानीको स्रोत पनि थियो ।

त्यतिखेर म चन्द्रलाल झाको सम्पादन/प्रकाशनमा निस्किने दैनिक पत्रिका ‘नेपाल टाइम्स’ मा काम गर्दथेँ । खरो राजनीतिक विचार र विश्लेषणको सम्प्रेषणका लागि प्रसिद्ध थियो ‘नेपाल टाइम्स’ । स्पष्ट रूपमा प्रतिबन्धित राजनीतिक पार्टीको पक्षमा र निर्दलीय व्यवस्थाको विपक्षमा उभिनुभएका सम्पादक झासँग मैले गोरखापत्रमा गैरराजनीतिक विषयमा लेख्ने इच्छा जागेको बताएँ । उहाँले भन्नुभयो, “आफ्ना सैद्धान्तिक आधारसँग सम्झौता नगरी जहाँ लेखे पनि हुन्छ ।” उहाँले यति भन्नु भएपछि म खुसी भएँ । गोरखापत्रमा लेख्न उहाँले दिनुभएको स्वीकृति मेरा लागि उत्साहवर्धक थियो । त्यसपछि म भारतजीलाई भेट्न उहाँको कार्यकक्षमा पुगेँ । मैले आफ्नो कुरा राख्न नपाउँदै उहाँले भन्नुभयो, “नेपालका गाउँलाई केन्द्रित गरेर गोरखापत्रमा एउटा स्तम्भ सुरु गर्ने विचार छ मेरो । तपाईंको भाषा राम्रो र सरल छ । त्यो स्तम्भ तपाईं चलाउनुहोस् भन्ने चाहन्छु म ।”

मैले भनेँ, “राजनीतिक स्तम्भ त म लेख्दिनँ । गाउँका समस्या र आवश्यकतालाई फोकस गरेर लेख्ने हो भने म तयार छु ।” 

भारतजीको आग्रहमा मैले स्तम्भ लेख्न मञ्जुर गरेँ । स्तम्भको नाम राखियो, ‘हाम्रा गाउँघर’ । तस्बिरका लागि मेरा अभिन्न मित्र फोटो पत्रकार गोपाल चित्रकार र म गाउँतिर लाग्यौँ । 

सुरुमा काठमाडौँका खड्का भद्रकाली र इन्द्रायणीगाउँ रोजियो । आफ्नो गाउँको विकासका लागि ती दुवै गाउँका प्रधानपञ्च लागिपरेका थिए तर गाउँमा विकासका पूर्वाधार नै थिएनन् । उनीहरूले स्थानीय स्रोत र जनशक्तिका भरमा जे जति काम गरेका थिए, त्यो नै उपलब्धि थियो । जिल्ला पञ्चायत सत्ताकेन्द्रित राजनीतिको अखडा थियो । यस्तो अवस्थामा गाउँको प्रधानपञ्च जतिसुकै सक्रिय भए पनि उसले गर्न सक्ने केही थिएन । 

गाउँघरको रिपोर्टिङ त सुरु भयो तर त्यो न मैले सोचे जस्तो भयो न भारतजीले चाहे जस्तो । त्यतिबेला भारतीय समाचारपत्र ‘हिन्दुस्तान टाइम्स’ मा पत्रकार बिजी बर्गिजले एउटा स्तम्भ चलाउँथे ‘भिलेज छतरा’ । भारतजी गोरखापत्रमा पनि त्यसै प्रकारको स्तम्भ चलाउने चाहना राख्नुहुन्थ्यो । काठमाडौँ उपत्यकामा गाउँ त एक से एक थिए तर विकासको गति सुस्त थियो । छ महिनाअघि रिपोर्टिङका लागि गएको गाउँमा छ महिनापछि जाँदा पनि अवस्था उस्तै देखिन्थ्यो । सबै गाउँका समस्या एकै थरी हुन्थे– बाटोघाटो, कुलो, हेल्थ पोस्ट र कृषि सामग्री । विकास सामग्रीको अभाव उत्तिकै थियो । एक पटक म छ महिनाको अन्तरालमा इन्द्रायणीगाउँ पुगेर प्रधानपञ्चलाई सोधेँ, “म अघिल्लो पटक आएको समयमा भन्दा अहिले कति प्रगति भयो त ?” प्रधानपञ्चले थकित स्वरमा जवाफ दिए, “त्यस्तो केही भएको छैन । सयौँ पटक जिल्ला पञ्चायत सचिवालय र स्थानीय विकास मन्त्रालय धाउँदा पनि निर्माणका लागि रकम निकासा भएको छैन ।” 

तैपनि ‘हाम्रा गाउँघर’ स्तम्भ चलिरह्यो । मैले भारतजीलाई भनेँ, “यो स्तम्भको नाम ‘गाउँघरका कुरा’ राखौँ । यसमा गाउँका समस्याबारे लेखौँ ।” त्यसपछि स्तम्भको नाम बदलियो । ‘हाम्रा गाउँघर’ ‘गाउँघरका कुरा’ मा रूपान्तरित भयो ।

गोरखापत्रमा काम गर्दा म ‘दी टाइम्स अफ इन्डिया’ को सहप्रकाशन साप्ताहिक ‘दिनमान’ मा पनि लेख्ने गर्दथेँ । ‘दिनमान’ सँग मेरो सम्बन्ध २०२६ सालदेखि स्थापित भएको थियो । नेपालको प्रतिपक्षी राजनीतिमाथि मेरा खरा टिप्पणी प्रकाशित हुन्थे । त्यसका अतिरिक्त नेपाली समाज, नेपालको कला, साहित्य र समसामयिक टिप्पणी पनि लेख्ने गर्दथेँ । एक पटक ‘दिनमान’ मा छापिएको मेरो एउटा राजनीतिक टिप्पणीमाथि सरकारले प्रतिबन्ध लगायो । त्यसमा मेरो ‘बाइलाइन’ त थिएन तर सरकारले अनुमान लगाइहाल्यो । गोरखापत्रका अध्यक्ष तथा महाप्रबन्धकले मलाई आफ्नो कोठामा बोलाएर स्पष्टीकरण मागे । मैले त्यो टिप्पणी लेखेको हो पनि भनिनँ, होइन पनि भनिनँ । त्यसबारे अरू छानबिन भएन तर सरकारका दूतले मलाई निरन्तर पछ्याउन थाले ।  

परिवर्तित समयसँगै २०३० सालदेखि नै गोरखापत्रप्रति जनआक्रोश बढ्न थालेको थियो । जनताको पैसामा चल्ने गोरखापत्र सरकारको मुखपत्र बनेकोमा पाठकमा असन्तुष्टि बढ्न थालेको थियो । पाठक हामीसँग गुनासो गर्दथे, “गोरखापत्र सरकारको मुखपत्र त होइन नि । त्यसरी एकतर्फी बन्न सुहाउँछ ?” २०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा आन्दोलनकारीले गोरखापत्रको भवनमा आगो लगाइदिए । संस्थानका मेसिनरी सामान क्षतिग्रस्त भए । त्यसपछि गोरखापत्रका अध्यक्ष तथा महाप्रबन्धक हटाइए । भारतदत्त कोइराला पत्रकारिताको शीर्ष स्थानबाट संस्थानको प्रमुख बनाइनुभयो ।

राजा वीरेन्द्रले २०३६ जेठ १० गते नेपाली जनतालाई बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायत व्यवस्थामध्ये एक रोज्न जनमतसङ्ग्रह गरिने घोषणा गरेपछि मेरो भेट नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईसँग भयो । उहाँले मलाई भन्नुभयो, “अब तिमी गोरखापत्र छोड ।” त्यसपछि मैले गोरखापत्रबाट बिदा लिने निर्णय गरेँ । आफू बहुदलवादी र नेपाली कांग्रेसको समर्थक भएकाले म आफैँलाई पनि गोरखापत्रमा काम गर्न असहज भइरहेको थियो । मैले आफ्नो निर्णय भारतजीलाई सुनाएँ । उहाँले मलाई गोरखापत्रमा काम गर्दागर्दै पनि बहुदलीय व्यवस्थाका लागि प्रचार गर्न बन्देज नलाग्ने कुरा बताउनुभयो तर मेरो विवेकले त्यो कुरा स्वीकार गरेन । मैले राजीनामा बुझाएँ । पत्रकारका रूपमा गोरखापत्रसँगको मेरो पहिलो चरणको सम्बन्ध टुङ्गियो ।

गोरखापत्र संस्थानको नेतृत्वमा मेरो प्रवेश ज्ञानेन्द्र राजा भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गराएको थियो । त्यतिबेला मेरा साथी र शुभचिन्तकले म संस्थानको नेतृत्वमा गएको रुचाएका थिएनन् । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मन्त्री सरहको प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको व्यक्ति गोरखापत्रको नेतृत्वमा जानु कदाचित उचित होइन भन्ने तर्क थियो साथी र शुभचिन्तकको । उहाँहरूको कुरा सही थियो होला तर म मूल रूपले एउटा पत्रकार थिएँ । म गोरखापत्रमा आमूल परिवर्तन चाहन्थेँ, प्राविधिक पनि र मानसिक पनि । गोरखापत्रको नेतृत्व लिएपछि मैले थाहा पाएँ, संस्थाको आर्थिक परिस्थिति अत्यन्त अत्यासलाग्दो छ । प्रजातन्त्रको पुनस्र्थापनापछि राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्रमा रूपान्तरित भएको रहेछ त्यो संस्था । कर्मचारीको भिड छ तर काम छैन । मेरो मनमा गोरखापत्रलाई रङ्गीन बनाउने, यसलाई सरकारमातहतबाट झिकेर सार्वभौम संसद्को अभिभावकत्वमा राख्ने, स्वायत्त आत्मनिर्भर संस्थाका रूपमा विकसित बनाउने जस्ता कल्पना थिएँ । म सरकारमाथि दबाब सिर्जना गर्न त सक्थेँ तर त्यसका लागि वातावरण तयार गर्न समय लाग्दथ्यो । 

यसैबेला माओवादीले मेरो कार्यकक्षमा बम पड्काए । शौचालयमा राखिएको बम पड्किँदा म आफ्नो कार्यकक्षमा थिइनँ, ज्यान जोगियो । मेरो अठोट गोरखापत्रलाई रङ्गीन बनाउने थियो । मैले सञ्चालक समितिको बैठक बोलाउँदा प्रेस हेर्न विदेश जाने कुरा उठिहाल्थ्यो । यसअघिका सञ्चालकले कलर प्रेसको खोजीमा धेरै विदेश भ्रमण गरिसकेका थिए । मैले पहिलेका सञ्चालकले विदेश भ्रमणपछि दिएका प्रतिवेदन र प्रेस निर्माता कम्पनीले दिएका प्रस्तावको अध्ययन गरेँ । हामीलाई प्राप्त भएका विभिन्न कम्पनीको कोटेसन केलाएँ । त्यसपछि ओरियन्ट कम्पनीले पेस गरेको एक करोड २० लाख रुपियाँको एउटा कोटेसन फेला पारेँ । त्यसैका आधारमा कोटेसन दिने भारतको ओरियन्ट पार्टीलाई बोलाएँ । उनीहरूसँग कुराकानी भएपछि मैले ८० लाखमा त्यो मेसिन खरिद गर्ने निर्णय लिएँ । उनीहरूले तीन महिनाभित्र मेसिन जडान गरिदिने प्रतिबद्धता जनाए । सञ्चार मन्त्रालयबाट संस्थानका अध्यक्ष तोकिएका हरिप्रसाद शर्मा, ‘दी राइजिङ नेपाल’ का सम्पादक लोकदीप थापा र मुख्य लेखापाल यज्ञराज जोशीले गोरखापत्रलाई रङ्गीन बनाउने अभियानमा मलाई पूरा समर्थन र सहयोग दिनुभएको थियो ।

संस्थानसँग पैसा थिएन । मेसिन ल्याएपछि जडान गर्ने भवन पनि थिएन । मैले अर्थमन्त्री डा. रामशरण महतसँग कुरा गरेँ । उहाँले नेपाल बङ्गलादेश बैङ्कसँग कुरा गरेर पैसाको समस्या समाधान गरिदिनुभयो । त्यतिबेला सरकारको आफ्नै निर्माण कम्पनी थियो ‘एनसिसिएन’ । त्यो संस्थाले समयमा नै मेसिन जडान गर्न घर तयार गरिदियो । नेपालको चलन अनुसार मेराविरुद्ध संस्थानकै केही ‘शुभचिन्तक’ ले भ्रष्टाचारको हल्ला पनि चलाए । मैले निर्धारित समयमा घर निर्माण पूरा गराएँ । गोरखापत्रको रङ्गीन मेसिन जडान भयो । गोरखापत्र र निजी क्षेत्रका पत्रपत्रिकाबिच पानी बाराबारको अवस्था थियो । ‘नेपाल समाचारपत्र’ र ‘कान्तिपुर’ सँग सम्बन्धमा सुधार ल्याएँ । कागजको अभाव भएका बेला सापटी दिने र लिने सहमति भयो । अन्ततः रङ्गीन कलेवरमा गोरखापत्रको प्रकाशन सुरु भयो । विसं २०५९ असार १ गते चार पृष्ठको शनिबारीय अङ्क रङ्गीन तस्बिरको प्रयोग गरेर छापिएको थियो । विसं २०५९ असार १० बाट गोरखापत्र दैनिक आधुनिक प्रविधिको मेसिनमा रङ्गीन छापिन थाल्यो । गोरखापत्र नयाँ युगमा प्रवेश गर्‍यो ।

प्रधान सम्पादकका रूपमा भने मैले खासै काम गर्न पाइनँ । अनुभवसिद्ध केही साथीको सहयोगमा मैले गोरखापत्रलाई नयाँ कलेवरमा ल्याउने प्रयास गर्दै थिएँ । त्यति नै बेला ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि म संस्थानबाट बाहिरिएँ । गोरखापत्र जीवित छ र जीवित रहने छ । नेपालको यो पहिलो समाचारपत्रको हैसियत स्वतन्त्र रहनु पर्दछ । यसको स्वामित्व र अभिभावकत्व सार्वभौम संसद्मार्फत नेपाली जनतामा निहित हुनु पर्दछ । लोकतन्त्रमा सरकारको काम अखबार चलाउने होइन । अखबारलाई स्वतन्त्र र निष्पक्ष राखेर दुनियाँ ब्युँझाउने हो, जनतालाई जागृत र सचेत गराउने हो । 

लेखक गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार हुुनुहुन्छ ।

प्रस्तुत आलेख ‘गोरखापत्रसँग दुई चरणको मेरो सम्बन्ध ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।

  

Author
किशोर नेपाल

लेखक गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार हुुनुहुन्छ ।

लेखक बाट थप