केशवराज भट्ट
वासुलिङ्ग (बैतडी), साउन ७ गते । सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा बैतडी जिल्लामा करिब १६ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गरेका थिए । तर सोमध्ये करिब १३ अर्ब मात्रै खर्च भएको छ भने करिब तीन अर्ब रुपियाँ खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
सङ्घीय सरकार मातहतका कार्यालयहरूका लागि गत आर्थिक वर्षमा आठ अर्ब सात करोड ६९ लाख रुपियाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो । तर त्यसको ८५.०८ प्रतिशत अर्थात् ६ अर्ब ८७ करोड ४६ लाख रुपियाँ मात्रै खर्च भएको र बाँकी १४.९२ प्रतिशत बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका सूचना अधिकारी हरिदत्त पाण्डेयले बताउनुभयो ।
सङ्घीय निकायतर्फ चालु खर्चमा ६ अर्ब २ करोड रुपियाँ विनियोजन भएकोमा पाँच अर्ब ४९ करोड रुपियाँ खर्च भएको र पुँजीगततर्फ २ अर्ब पाँच करोड रुपियाँमा एक अर्ब ३७ करोड रुपियाँ मात्र खर्च भएको जानकारी दिइएको छ । कुल पुँजीगत बजेटको ६६.८८ प्रतिशत मात्र खर्च भएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूमा सोही अवधिमा तीन अर्ब ३२ करोड १३ लाख रुपियाँ विनियोजन गरिएको थियो । तर दुई अर्ब ६१ करोड ६५ लाख रुपियाँ मात्र खर्च भएको छ । कुल बजेटमध्ये ७८.७८ प्रतिशत खर्च भएको हो भने २१.२२ प्रतिशत रकम फिर्ता भएको पाण्डेले बताउनुभयो ।
प्रदेश सरकारका कार्यालयहरूद्वारा चालु शीर्षकमा ९२ करोड ९४ लाख रुपियाँ विनियोजन भई ७६ करोड ६२ लाख रुपियाँ खर्च भएको छ । यस्तै पुँजीगततर्फ दुई अर्ब ३९ करोड १९ लाख रुपियाँमध्ये एक अर्ब ८५ करोड २ लाख रुपियाँ खर्च भएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा भने पाँच अर्ब ३२ करोड रुपियाँ विनियोजन भएको थियो । तर चार अर्ब ५६ करोड रुपियाँ मात्र खर्च भएको हो । कुल खर्च ८५.८३ प्रतिशत छ भने १४.१७ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
स्थानीय तहमा चालु खर्चतर्फ तीन अर्ब ९० करोड रुपियाँमध्ये ३ अर्ब ५० करोड रुपियाँ खर्च गरिएको छ । यस्तै पुँजीगततर्फ एक अर्ब ४१ करोडमध्ये एक अर्ब ६ करोड रुपियाँ मात्र खर्च भएको छ । पुँजीगततर्फ खर्चको अनुपात ७५.०६ प्रतिशत छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका अनुसार बजेट खर्चमा सुधार भए पनि पुँजीगत खर्चको अनुपात अझै कमजोर देखिएको छ । खर्च गर्न नसकिएको बजेट भने तोकिएकै प्रक्रिया अनुसार फिर्ता पठाइएको जनाएको छ ।