• ८ साउन २०८२, बिहिबार

शहिद गुम्रा थारुको परिवारलाई सम्मान

blog

सन्तोष दहित
दाङ, साउन ७ गते । 
थारु पत्रकार संघले शहिद गुम्रा थारुको गाउँमै पुगेर उहाँको आफन्तलाई सम्मान गरेको छ । थारु पत्रकार संघका पूर्व  केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु पत्रकार संघ दाङका सल्लाहकार सविन प्रियासनको नेतृत्वमा शहिद गुम्रा थारुको परिवारलाई उहाँको गाउँ घोराही–३ बेलुवामा पुगेर सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै गुम्रा थारुका नाती मोहन चौधरीले बाजे गुम्राको हत्या भएको दिनको बारेमा जानकारी गराउनु भएको थियो ।

गुम्रा थारु किसानको पक्षमा डटेर लाग्ने गरेको स्मरण गर्दै नाती मोहन चौधरीले गुम्रासँगै त्यतिबेला तीन जनालाई गोलि लागेको, गुम्रा गोली लागेकै ठाउँमा देहाबसान भएको र दुईजना गोली लागेर पनि बाँचेको बताउनुभयो । त्यतिबेला गोली लागेर बाँच्नेहरु पनि हाल कालगतिले मरि सकेको उहाँको भनाइ छ ।

थारु पत्रकारहरुसँग गुनासो गर्दै मोहन चौधरीले गुम्रा बाजेकै कारण दाङमा जागरण सुरु भए पनि उहाँको सम्मानमा कसैले पनि खासै काम नगरेको गुनासो गर्नुभयो । गुम्राको नाममा गोग्ली चोकलाई गुम्रा चोक र सडक समेत उहाँकै नाममा राख्नुपर्ने गुम्रा थारुको परिवारको माग छ ।

यसैगरी बेलुवामा घोराही उपमहानगरपालिकाले पहिलो पटक सुरु गरेको थारु भाषा पढाउने स्कुलको नाम पनि गुम्राको नाममा राख्नुपर्ने शहिद गुम्राको आफन्तहरुको माग छ । गुम्राकै नाममा विद्यालयको नाम राख्ने भनेका कारण आफूहरुले विद्यालयलाई जग्गा दान गरेको समेत उहाँहरुको भनाइ छ । शहिद गुम्राको परिवारको गुनासो सुनेपछि थारु पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष दहित र थारु पत्रकार संघ दाङका सल्लाहकार सविन प्रियासनले शहिद गुम्रालाई जीवन्त राख्न आफुहरुले थारु पत्रकर संघको तर्फबाट विशेष अभियान चलाउने बताउनुभयो ।