• ७ साउन २०८२, बुधबार

‘कैलाश कोरा’ बजारमा

blog

काठमाडौँ, साउन ७ गते । नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’ पुस्तक पब्लिकेसन नेपालयले बजारमा ल्याएको छ । ‘चार ठुला नदी ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्नालीको उद्गम थलोको यथार्थ शब्द–चित्र मैले ‘कैलाश कोरा’ मा समेटेको छु, लेखक राजेन्द्रमान डङ्गोलले भन्नुभयो, “हिन्दु, बौद्ध, जैन, बोन आदि धर्ममा आस्थावान्हरूको प्रमुख पूजनीय गन्तव्य कैलाश मानसरोवरको साङ्गोपाङ्गो वृत्तान्त शब्दमा उतार्ने ध्येयले मैले गत वर्ष दुई साता लामो कैलाश यात्रा गरेको थिएँ, त्यसैको परिणाम ‘कैलाश कोरा’ हो ।”

नेपालबाट सन् १९९२ देखि कैलाश–मानसरोवर यात्राको योजनाबद्ध सञ्चालन गर्ने ज्योति अधिकारी भन्नुहुन्छ, “नारायण वाग्ले, अमृत गुरुङ जस्ता साहित्य, सङ्गीतका सम्मानित अगुवाले उहिल्यै कैलाश यात्रा गरेका थिए । उनीहरूको अनुभवले कैलाशलाई जसरी चम्काएको थियो, ‘कैलाश कोरा’ पुस्तकले त्यसरी नै कैलाश मानसरोवर यात्राको महत्व दर्साउँछ ।” लेखक राजेन्द्रमानले पुस्तकमा शब्दहरूको सङ्ग्रह मात्र नगरी मन, आत्मा र भावनाका गहिराइ पोखेको अधिकारीको टिप्पणी छ ।