• ७ जेठ २०८१, सोमबार

सिटी रिक्साको मनोमानी भाडा, सेवाग्राहीलाई सास्ती

blog

लहानको शहरी क्षेत्रमा भाडासूची नराखी सञ्चालनमा रहेका सिटी रिक्साहरु । तस्बिरः जीबछ यादव ।

जीबछ यादव

लहान, असार ६ गते । शहरी क्षेत्रमा चल्ने सिटी रिक्साको भाडासूची नहुँदा सवार हुने सेवाग्राहीलाई रिक्सावालाले भनेजतिकै मनोमानी भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन् ।  लहान नगरपालिकाले केही महिना अगाडि सिटी रिक्साको भाडा निर्धारण गरेर हरेक सिटी रिक्सावालालाई कार्यान्वयन गर्न रिक्सामा पारदर्शी भाडासूची लागु गर्न निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन भएको छैन ।  

लहानको शहरी क्षेत्रमा न्यूनतम २० रुपियाँदेखि ५० रुपियाँसम्म भाडा कायम गरिएको भएपनि दोब्बर भाडा असुल गरिरहको छ । लहानदेखि गुँदीगाउँसम्म ६० रुपियाँ सिटी रिक्साको भाडा हुनु पर्नेमा जनही १५० दरले भाडा असुल्नेगरेको सेवाग्राही चन्द्रकिशोर यादवले गुनासो गर्नुभयो । 

चन्द्रकिशोर यादवको गुनासो मात्रै नभएर अधिकांश सेवाग्राहीहरु रिक्सावालाले लिइने मनोमानी भाडा रोक्न सरोकारवालाले तोकिएको भाडासम्बन्धी मुख्य चोकमा ठूला बोर्डहरु राखिदिनु पर्ने, हरेक रिक्सामा भाडादर भएको सूची हुनुपर्ने माग राखेका छन् । 

स्थानीय सेवाग्राहीहरुसँग भाडा मिलाएर लिए पनि टाढाका नचिनेकासँग दोब्बर तेब्बर भाडा लिइरहेको लहान–३ का रामसेबक ठाकुरको गुनासो छ । उहाँकाअनुसार सिटी रिक्सा मात्रै होइन, बस र हायस लामो दूरीका सवारी साधनमा समेत सूची नहुँदा सर्वसधारणहरु ठगिने गरेको उहाँहरुको गुनासो छ ।  

लहानमा रहेको बसपार्कहरु सञ्चालनमा नआउँदा समेत यस्तो समस्या देखिएको लहान–१ का मनिलाल साहले बताउनुभयो । बसपार्क सञ्चालन हुनुपर्ने र पार्कबाट जाने आउने सिटी रिक्साहरुको भाडा निर्धारणको सूचीसम्बन्धी बोर्ड पार्कमा राख्दा सेवाग्राही ठगिनबाट जोगिने उहाँहरुको सुझाव छ ।  

लहान–१ सिटी रिक्साचालक दुखी चौधरीकाअनुसार नगरपालिकाले भाडासूची हरेक सिटी रिक्सावालालाई रिक्सामै टाँस्न अनिवार्य गरेपनि त्यसको कार्यान्वयन भएन । सबै सिटी रिक्सावालाले सेवाग्राहीलाई ठग्दैन तर केहीले ठग्ने काम गरिरहेका छन् उहाँले भन्नुभयो । 

लहान नगरपालिकाले जारी गरेका भाडादर सरोकारवाला सबैलाई राखेर निर्धारण गरेको थियो । केही दिन लागु पनि भयो । स्थानीय तहको चुनाव आएपछि यसतर्फ कसैको ध्यान नगएको स्थानीयको भनाई छ । निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले यसबारे ध्यान दिनुपर्ने लहान–९ का वडाध्यक्ष प्रदिपकुमार चौधरीले बताउनुभयो । लहानमा दुई सयभन्दा बढी सिटी रिक्साहरु लहानको शहरी क्षेत्रमा सञ्चालनमा छन् ।