गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ६ गते । नेपाली लोकवाद्य र परम्परागत नृत्यशैलीको संरक्षण र प्रवर्धनको उद्देश्यसहित दुईदिने ‘दोस्रो राष्ट्रिय लोकनृत्य (धिमेविशेष) कार्यशाला २०८२’ राजधानीमा सम्पन्न भएको छ । डिस्कभर नेपाल डान्स थियटरद्वारा आयोजित कार्यशालामा काठमाडौँ, ललितपुर, मध्यपुर ठिमी र भक्तपुरका धिमेवाद्य गुरुहरूले धिमेबाजाको बोल, वाद्यशैली, नृत्य र परम्पराबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा परम्परागत लोकनृत्य प्रशिक्षक गोपाल प्रजापति, परम्परागत लोकनृत्य अनुसन्धानकर्ता मुक्ति सुन्दर जधारी, नृत्य निर्देशक मोहन व्यञ्जनकार र वाद्यगुरु शेषनारायण महर्जनले धिमेबाजा, ताल, वादन शैली, नृत्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
डिस्कभर नेपाल डान्स थियटरका संस्थापक तथा निर्देशक भावना कार्कीका अनुसार चारैजना वाद्यगुरु गोपाल प्रजापति, मुक्ति सुन्दर जधारी, मोहन व्यञ्जनकार र शेषनारायण महर्जनलाई कार्यक्रममा जनही १० हजार रुपियाँ राशिसहित विशेष सम्मान गरिएको थियो । त्यस्तै कार्यशालामा काठमाडौँ, भक्तपुर, ललितपुर, मध्यपुर ठिमीलगायत उपत्यका बाहिरबाट समेत सहभागिता रहेको थियो । कार्यशालामा डान्स स्कुलका शिक्षक, विद्यालयका डान्स शिक्षक गरी १४० जनाको सहभागिता रहेको जनाइएको छ । यसअघि डिस्कभर नेपालले कोशी प्रदेशमा राष्ट्रिय नृत्य कार्यशाला सम्पन्न गरेको थियो ।
सो कार्यशालाको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गर्नुभएको थियो । मन्त्री पन्तले लोकबाजासम्बन्धी कार्यशालाले राष्ट्रिय पहिचानलाई मजबुत बनाउनुका साथै मौलिक संस्कृतिप्रति युवापुस्तामा जागरण ल्याउने धारणा व्यक्त गर्नुभएको थियो ।
निर्देशक कार्कीका अनुसार नृत्य तथा कोरियोग्राफी क्षेत्रमा विशेष योगदान पु¥याएका सुमनसागरजङ्ग केसी, नवीन गुरुङ, सीता सुवेदी र हेमराज गजमेरलाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिएको थियो ।