• १३ साउन २०८१, आइतबार

जलेश्वर नगरपालिकाको ७२ करोडको बजेट सार्वजनिक

blog

जलेश्वर नगरपालिकाको अनुमानित वजेट प्रस्ताव सार्वजनिक कार्यक्रममा सहभागीहरु । तस्वीर : महेशकुमार दास

महेशकुमार दास

जलेश्वर, असार ६ गते । महोत्तरीको सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि ७२ करोड १५ लाख रुपियाँको अनुमानित वजेट सार्वजनिक गरेको छ । जलेश्वर नगरपालिकाले सम्पन्न गरेको नवौं नगरसभाबाट सो अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नवौं नगरसभामा जलेश्वर नगरपालिकाको प्रमुख सुरेश साह सोनारले सो बजेटसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । नगरप्रमुख सोनारले सार्वजनिक गर्नुभएको अनुमानित बजेटमा वित्तीय सामान्यीकरण तर्फ १७ करोड ८४ लाख, सशर्त अनुदानतर्फ ३३ करोड ९१ लाख, विशेष अनुदानतर्फ २ करोड, राजस्व बाँडफाँटतर्फ १० करोड ४० लाख (अनुमानित), प्रदेश सरकारबाट ३ करोड (अनुमानित), आन्तरिक स्रोत बाट ४ करोड (अनुमानित) र सरकारी, गैरसरकारी, सङ्घ संस्थातर्फ १ करोड (अनुमानित) गरी जम्मा ७२ करोड १५ लाख (अनुमानित) बजेट सार्वजनिक गरिएको छ ।  

वर्षौदेखि उपेक्षित रहेको जलेश्वर नगरपालिकाले अव विकास मात्र देख्ने तर्क प्रमुख सोनारले गर्नु हुँदै जलेश्वर नगरपालिकालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नेखालको बजेट ल्याइएको बताउनुभयो । 

नगरप्रमुख सोनारले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्धन गर्दै सहभागितामूलक शासन व्यवस्थामार्फत लोकतान्त्रिक गणतन्त्रका लाभांशहरु समानुपातिक समावेशी हिसाबले जनताको घरदैलोमा पु¥यउने तथा कार्यकारिणी, विधायकी र न्यायिक अधिकारको सन्तुलित अभ्यास गरी स्थानीय नेतृत्वको विकास गर्ने र स्थानीय शासन पद्धतिलाई सुदृढ, सेवामूलक, जनउत्तरदायी, पारदर्शी र चुस्त बनाई सुशासन कायम गर्ने उद्देश्य जलेश्वर नगरपालिकाको रहेको आफ्नो नीति तथा कार्यक्रम प्रस्तुतीकरणमा भन्नुभयो । 

बजेटमा भौतिक पूर्वाधार तथा संरचना विकासतर्फ दिगो नतिजामूलक विकासका लागि आवश्यक गुरुयोजना तयार गरी अगामी वर्ष आवधिक नगरविकास योजना भू–उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा जोड दिईने, सम्भावित प्रकोप, दुर्घटना र आम नगरवासीको सुरक्षाको लागि शहरी विकास मन्त्रालयबाट जारी सङ्घीय मामिला तथा स्थानीय विकास राष्ट्रिय भवन संहिता एवं भवन निर्माण मापदण्ड मन्त्रालयबाट जारी बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ लाई कडाइका साथ लागु गरिने उल्लेख गरिएको छ । 

विस्तारित समृद्ध नगर विकासको उद्देश्यसहित नगरपालिका क्षेत्रमा रिङरोडसहित बसपार्क निर्माण यसै वर्ष शुरु गरिने कार्यक्रम बजेटमा समेटिएको छ । यसैगरी महिला, बालबालिका तथा अन्य लक्षित समूहका लागि विपन्न तथा पिछडिएका वर्गका महिलालाई लक्षित गरी समग्र महिलाको सशक्तीकरण र अमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने, बालमैत्री स्थानीय शासनको अवधारणालाई संस्थागत विकास गर्ने नीति लिइएको छ । 

फोहाेरलाई मोहरमा परिणत गर्ने उद्देश्यका साथ (जिरो वेस्टेज) अवधारणाअनुसार शून्य फोहर अवस्था निर्माणका लागि फोहोरजन्य पदार्थहरुको स्रोतमा वर्गीकरणसहित सङ्कलनका लागि हरियो, रातो र नीलो अभियानलाई अगाडि बढाउन पहल गरिने र फोहाेरको मात्रा घटाउने, जैविक तथा अजैविक फोहाेरजन्य पदार्थको पुनः प्रयोग र पुनः प्रशोधन विधिलाई प्राथमिकता दिने वजेटमा व्यवस्था छ । 

प्रादेशिक अस्पताल जलेश्वरको स्तरोन्नति र सेवा सञ्चालनमा सहजता ल्याउन सरोकारवाला निकायहरुसँग समन्वय गरी आधुनिक उपकरणसहित विशेषज्ञ चिकित्सकसहित सेवा प्रवाहको व्यवस्था मिलाउँदै सबै स्वास्थ्य चौकीहरुको समेत पूर्वाधार विकासमा आवश्यक सहयोग गरी विभिन्न अति आवश्यक ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।