• ५ साउन २०८२, सोमबार

कर्णाली कोरिडोरको हुम्ला खण्डमा तीन वटा पक्की पुल निर्माण

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ५ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा एक वर्षमा तीन वटा पक्की पुल र १० वटा कलभर्ट निर्माण गरिएको छ । बहुवर्षीय योजनाभित्र पर्ने भए पनि आर्थिक वर्ष २०८१/८२ मा यी पुल र कलभर्टको निर्माण सम्पन्न गरिएको हो ।

कर्णाली कोरिडोरको हुम्ला खण्डको कवाडीदेखि हिल्सासम्म विगत आठ वर्षदेखि निर्माण सुरु गरिएका पक्की पुल र कलभर्ट गत असारभित्र सम्पन्न भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । यसअघि सडक सञ्जाल नजोडिएकाले निर्माण सामग्री ढुवानीमा समस्या भएका कारण पुल निर्माणमा ढिलाइ भएको थियो । एक वर्षयता सलीसल्लाको कर्णाली नदीमा बेलिब्रिज निर्माण भई सडक यातायात खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिएपछि पुल तथा कलभर्टको निर्माण कार्यले गति लिएर निर्माण सम्पन्न भएको उहाँले जनाउनुभयो । यसरी एक वर्षमा निर्माण सम्पन्न भएका पक्की पुलमा सल्ली खोला, ताग्रु खोला र हेक्पा खोला छन् । हेक्पा खोलाको पुलको काम भने पाँच प्रतिशत बाँकी छ । यो पुलको निर्माण आव २०७३/७४ बाट सुरु भएको थियो ।