• ५ साउन २०८२, सोमबार

सतचालिस बस्ती सडकको पहुँचबाहिर

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ५ गते । आर्थिक वर्ष २०८१/८२ सम्ममा हुम्ला जिल्लाका ४७ वटा बस्ती सडक सञ्जालको पहुँचभन्दा बाहिर छन् । केही बस्तीमा सडक निर्माण गर्ने कार्य सुरु भए पनि अधिकांश बस्तीमा सडक निर्माणको सुरसारै छैन । गाउँपालिकाभित्रका १८ वटा बस्तीमध्ये आठ वटा बस्ती अहिलेसम्म सडक सञ्जालबाट टाढा रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । १० वटा बस्तीमा सडक सञ्जाल जोडिएको र नजोडिएका बस्तीमा पनि सडक निर्माण गर्ने कार्य सुरु भइरहेको तथा केहीमा सडक निर्माण गर्ने लक्ष्य रहेको उहाँले जनाउनुभयो । नाम्खा गाउँपालिकाका सडकको पहुँचभन्दा टाढा रहेका बस्तीमा लिमीको तिल, न्याम, चाला, च्यादुक, खगालगाउँ, गुम्बा गाडापारी र ताङ्गिन गाउँ रहेका छन् । ती बस्तीमा ३० भन्दा बढी घरधुरी रहेका छन् । 

सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका आठ वटा बस्तीमा सडक जोडिएको छैन । ग्रामीण सडक नजोडिएको सिमकोट गाउँपालिकाका बस्तीमा खोल्सी, स्याँडा, साँता, याङ्गु, धारापोरी, चौगानफया, पाम्लाथुङ्ग र गुम्बाटल्की छन् । त्यसै गरी खार्पुनाथ गाउँपालिकाका प्रवक्ता भरतजङ्ग शाहीका अनुसार १० वटा बस्ती सडकको पहुँचभन्दा टाढा रहेका छन् । उक्त गाउँपालिकाका ताक्ला, बाम्टा, दुर्पा, थाली, सेराडिल, राया, गुम्बा, चारङ्ग, छिप्रा, माझा, नल्न र लेख बस्ती सडकको पहुँचभन्दा टाढा छन् । सर्केगाड गाउँपालिकाका १२ वटा बस्ती सडकको पहुँचभन्दा बाहिर छन् ।