अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन ५ गते । साउनको पहिलो सोमबारका दिन आज बागलुङका शिवालयहरुमा भक्तालुहरुको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।
शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिने गर्छन् । त्यसैले साउनको पहिलो सोमबारका दिन आज बागलुङको गौरिधाम लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहानदेखि भक्तजनको चहलपहल सुरु भएको छ । भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विसं. २०५८ मा निर्मित मन्दिरमा बर्सेनि शिवरात्री र साउने सोमबारमा विशेष पूजाआजा हुनेगर्छ ।
यस्तै, बागलुङ नगरपालिका–९ तित्याङस्थित शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । गौरिधाममा पर्वतको नाङ्लीबाङका साथै जिल्ला सदरमुकाम बागलुङ बजारबाट भक्तजनहरु पुग्ने गर्छनभने तित्याङको शिवालय मन्दिरमा जिल्ला सदरमुकाम बागलुङ बजार र मन्दिर आसपासका गाउँबाट भक्तालु शिवको पूजाआराधना गर्न शिवालयमा पुग्ने गरेका छन् ।
यस्तै काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र वडा नम्बर ७ रेशमा ओदानडाँडा शिवालय मन्दिर, गलकोट नगरपालिका– ७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ ।
ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर व्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।