भरतपुर, साउन ५ गते । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् ।
धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ ।
त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ ।
देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । यो मेलालाई बोल ओम मेलाको रुपमासमेत मनाइन्छ । महिला तथा पुरुष व्रतालुहरु पहेँलो बस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् ।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटमा अहिले धूमपान र मध्यपान निशेष गरिएको छ । यसवर्ष देवघाटलाई प्लाष्टिकमुक्त बनाउने अभियानका साथ निषेध गरिएको निर्देशक बरालले बताउनुभयो । उहाँले मेलामा आउँदा अबिर, अक्षता, धूपबत्ती ल्याउन प्रयोग गरिने प्लाष्टिकका कारण नदी प्रदूषित बनेको भन्दै आगामी दिनमा कडाइका साथ निषेध गरिने जानकारी दिनुभयो ।
देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको स्थानीय मोहन पोखरेलले बताउनुभयो । साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । यसरी चढाउँदा बिबाहिता महिलाहरुले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन्, भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दछन् । यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् । सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवकसमेत परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
यसवर्ष साउन महिनाभर देवघाट आउने भक्तजनको तथ्याङक सङ्कलनको कामसमेत गरिएको समितिले जनाएको छ । रासस