नवलपरासी समाचारदाता
हुप्सेकोट, साउन ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार विपन्न जनतासँग सरोकार राख्ने स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्यको विकासलाई पहिलो मापदण्डमा राखेर कार्यक्रमको प्रारूप तयार गरेको स्पष्ट पार्नुभयो । हुप्सेकोट गाउँपालिका अन्तर्गत निर्माण भएको देउराली प्राथमिक अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मन्त्री पौडेलले वर्तमान सरकार नेपाली कांग्रेस र एमालेको संयुक्त भएकाले काम गरेर नै जनताको पक्षमा उभिन लायक बनाउनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस हरेक विषयमा गम्भीर रहेको बताउँदै सरकारमा रहँदासम्म काममा सही ढङ्गबाट अगाडि बढ्न तयार भएको र त्यसका लागि पार्टीको निर्देशन हरेक जनप्रतिनिधिले सम्मानका साथ पालना गरिरहेको स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले अहिले केही पार्टी र तिनका नेताले मुलुकमा अस्थिरता ल्याउन उद्धत रहेको बताउँदै जनताका विरुद्ध कुनै पनि काम गर्न नहुने र जनताको विश्वास जितेर अघि बढे मात्र विकास दुरत गतिमा अघि बढ्ने कुरामा जोड दिनुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेलगायतका वक्ताले विकासको क्षेत्रमा हुप्सेकोट गाउँपालिकाले गरेका कामले सबैलाई फाइदा पुगेको बताउनुभयो । हुप्सेकोटमा निर्माण भएको देउराली प्राथमिक अस्पतालको भवन निर्माणमा रु. पाँच करोड दुई लाख ६३ हजार १७४ खर्च भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।
यसै गरी स्वास्थ्यमन्त्री पौडेलले नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसले विगतका असहमतिका कुरा बिर्सेर सहमतिका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले कांग्रेस मात्र जनताको विश्वास जित्न सक्ने पार्टी भएको र यसलाई अगाडि बढाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।