डुम्रे (तनहुँ),साउन ५ गते । यहाँको व्यास नगरपालिका–३ दमौलीस्थित नमूना पशुपक्षी अस्पतालको भवन निर्माण अधुरो बनेको छ ।
सो भवन विसं २०८१ पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम सकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । निर्धारित समयमा पूरा नभएपछि पटक पटक म्याद थप गरेपनि समयमा सम्पन्न नभएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिनुभयो ।
ठेकेदारको लापरबाहीले सुस्त गतिमा काम गरेकाले २५ प्रतिशत काम अझै बाँकी छ । प्रमुख अधिकारीले भन्नुभयो, “द्रुतगतिमा काम गरेर छ महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप भएको छ ।” भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको हो ।
सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा डेढ वर्षअघि सम्पन्न गर्नुपर्ने भए पनि भवन अधुरै छ । गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि करबाहेक रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । रासस